सार्वजनिक लेखा समितिले वाइडबडी जहाज र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको छानबिनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विवरण माग गरेको छ ।
वाइडबडी विमान खरिद प्रकरणमा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि समेत अनियमितताको आरोप लागेको छ भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसनको मोलमोलाइ भएको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।
वाइडबडी विमान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न करिब दुई वर्ष अगाडि अख्तियारलाई पत्राचार गरेको थियो ।
तर, हालसम्म त्यसको अनुसन्धानका विषयमा भएको प्रगतिबारे जानकारी नभएको भन्दै लेखाले विवरण माग गरेको हो । बिहीबार अख्तियारलाई पत्र लेखी वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसको छानबिनबारे विवरण माग गरेको लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
करिब ६ महिनाअघि अनुसन्धान कहाँ पुग्यो ? भनेर पत्र लेख्दा अनुसन्धान हुँदै गरेको भन्ने जवाफ आएको उल्लेख गर्दै सचिव पाण्डेले पुनः पत्र लेखिएको जानकारी दिए ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिन पनि अख्तियारले तामेलीमा राख्न खोजेको चर्चा छ । लेखा समितिले पनि यसबारे आशंका गर्दै अख्तियारलाई पत्र पठाएको छ ।
स्वीट्जरल्याण्डको केबीए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यससम्बन्धी अडियो टेप सार्वजनिक गराएका थिए ।
प्रतिक्रिया दिनुहोस