२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

जोगबनीबाट ६८ किलोमिटर पर भारतको सिम्राही पुर्याएकी किशोरी बली चढ्नबाट कसरी जोगिइन्?

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ३३५ पाठक संख्या
  • सुनसरीको रामधुनी नगरपालिका ५ की एक किशोरी बली चढ्न बाट जोगिएकी छिन् । उनीलाई भारत लैजादै गर्दा जोगबनीबाट ६८ किलोमिटर पर भारतको सिम्राही पुगेपछि बसबाट हाम फालेर नेपाल फर्कन सफल भएका कारण बली चढ्नबाट जोगिएकी हुन् ।

    उनी सीमा क्षेत्र बिराटनगर महानगरपालिका १७ इश्लामपुरको बाटो हुँदै भारत लैजाने क्रममा सिम्राहीमा पुगेपछि बसबाट हामफालेर ट्याम्पो चढेर नेपाली सिमा आईपुगेकी थिईन् । उनीलाई लैजादै गरेका तीन जना सप्तरी विष्णुपुर ५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी १ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका ३ घर भएका सुनसरी रामधुनी ५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल लाई प्रहरीले पक्राउ गरेको छ ।
    घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ । सुमितले मनिकासँग मिलेर, प्रदीपको सहयोग लिएर किशोरीलाई भारत पु¥याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कन्याकेटीलाई पूजामा राखेर टीका लगाइदिँदै पाँच हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर किशोरीकी आमालाई मनिकाले विश्वस्त पारेको अनुसन्धानका क्रममा पाइएको छ । आफ्नो पनि पैसा आउने भएकाले किशोरीलाई एउटा मोबाइल समेत किनिदिने भन्दै मनिकाले थप प्रलोभन देखाएर लगेको प्रहरीले बताएको छ ।

    भारत कसरी पुर्याए ?
    लेटाङ —३ मोरङकी मनिका ढकाल सुनसरी रामधुनी–५ झुम्कामा डेरा गरेर बस्छिन् । त्यहीँ नजिक घर भएकी १७ वर्षे एक किशोरीलाई आइतबार बिहान उनले विराटनगर पूजामा जान फकाइन् । उनकी आमासँग अनुमति लिइन्। पूजामा कन्या चाहिने र टीका लगाएर ५ हजार रुपैयाँसमेत दिन्छन् भनेपछि आमाले जान दिईन् । विराटनगरमा सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल थपिए। उनीहरूले इस्लामपुर नाका हुँदै भारत छिराएको उनले पत्तै पाइनन् । इस्लामपुर–जोगबनी हुँदै ट्याम्पोमा २० किलोमिटर टाढा फारबिसगन्ज पु¥याए । त्यहाँबाट बसमा राखेर ४८ किलोमिटर दूरीको सिम्राहीसम्म लगे ।

    कसरी थाहा पाईन र उम्कीन ?
    सिम्राही उत्रिएपछि ‘हाम्रा मान्छे आएनन्’ भन्ने गफ गरेको उनले सुनिन् । साइनबोर्डहरू हेर्दा भारत रहेको पत्तालागेपछि किशोरीले नयाँ जुक्ति फुराइन् । उनीहरूको आँखा छलेर फारबिसगन्ज आउने बस चढिन् । कुद्दै गरेको बस रोकेर ती तीनै जना त्यसमै चढे । बाटाभरि केही हुँदैन, जानुपर्छ भन्दै फकाए । उनले मानिनन् । जब फारबिसगन्ज बस आइपुग्यो, हतार–हतार हाम्फालिन् । रिजर्भको टेम्पो चढेर तुरुन्तै जोगबनीतिर फर्किइन् । अर्को टेम्पोमा उनीहरूले पछ्याए । साँझ जोगबनी आइपुगेकी उनलाई प्रहरी र साना हातहरू नामक संस्थाका सीमामा परिचालित स्वयंसेवकले सोधीखोजी गरे र संरक्षणमा राखे ।

    दोषि कसरी समातिए ?
    ती किशोरी सँगै जस्तो आइपुगेकी मनिकालाई प्रहरीले समाते र ती किशोरी सँगै राखे । भोलिपल्ट किशोरीको बयानबाट मनिका पनि मतियार रहेको खुल्यो। र, प्रहरीले मनिकालाई सुमित र प्रदीपलाई फोन गरेर ‘उता जान प्रहरीले दिने भयो, उनी पनि राजी भइन्’ भन्न लगायो । दुवै जना मक्ख परेर त्यहाँ आइपुगे र प्रहरीले पक्राउ ग¥यो । मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार सुमित घटनाका मुख्य योजनाकार र प्रदीप उनका सहयोगी रहेको खुलेको छ । उनीहरूले तीन–चार लाख दिने भन्दै मनिकालाई किशोरी ल्याउन खेताला बनाएका थिए ।

    १२ लाखमा ‘डिल’
    प्रहरीका अनुसार सुमितका भिनाजु रनधीर मण्डल भारतको सहरसामा बस्छन् । रणधीर र उनका भाइ वीरेन्द्र मण्डलले आफूलाई किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएको सुमितले प्रहरीलाई बयान दिएका छन् । ‘सिम्राही पु¥याएपछि भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘तर किशोरी भागेपछि उनीहरू आफ्नो योजनाबाट असफल भएको देखिन्छ ।’ सुमितले तीन/चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि यस काममा लागेको मनिकाले बताएकी छन् ।  एसपी खड्काले ठूलो रकमको ‘डिल’ भएर किशोरीलाई भारत पु¥याउन खोजिएको सूचना आएपछि घटनालाई गम्भीर रूपमा लिइएको बताए । प्रहरी स्रोतले यति ठूलो रकम र पूजाको विवरण विश्लेषण गर्दा ‘बलि’ दिन लगिएको हुन सक्ने अनुमान गरेको छ । भारतमा यस्तो अन्धविश्वास व्याप्त छ ।

    आइतबार बिहान ७ बजे घरबाट लगिएकी छोरी साँझसम्म नआएपछि परिवारले खोजी सुरु गरेको थियो ।
    विराटनगर ल्याएको भन्दै मलाई भारत पु¥याएको थाहा पाएपछि गाडीबाट हाम्फालेर भागेको ती किशोरीले जानकारी दिएकी छन् । त्यस क्रममा धेरै फकाउने काम गरे पनि मैले नमानेपछि उनीहरू पछिपछि आए ।’ बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरू व्यक्तिसँग फोनमा कुरा गरेको थाहा पाएपछि आफू गाडीबाट हाम्फालेको किशोरीले बताएकी छन् । एसपी खड्काले घटनामा संलग्नहरूको अरू ‘कनेक्सन’ खोतल्न थालिएको बताए । ‘घटनाको प्रकृति हेर्दा यसमा अरूको पनि संलग्नता हुन सक्छ,’ उनले भने । उनले पक्राउ गरिएका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस