२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

तीनधारे क्षेत्रमा होमस्टे व्यवस्थापनको लागि रोशी गाउँपालिकाले ३० घरलाई दश हजारका दरले अनुदान दिने

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • २३८६ पाठक संख्या
  • रोशी गाउँपालिका वडा न २ मा रहेको तीनधारे झरना हेर्ने आउने अधिकांशको गुनासालाई सम्बोधन गरेको छ ।

    मंगलबार बसेको रोशी गाउँपालिकाको ४९ औँ कार्यपालिका बैठकले झरनाको संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवद्र्धनका लागि वडा न १, २ र ३ को भेला गरी ११ सदस्यीय झरना संरक्षण समिति गठन गर्ने निर्णय गरेको छ । तीन वटै वडाका वडा अध्यक्षको रोहवरमा उक्त समिति बनाएर गाउँपालिकामा पेश गर्न भनिएको छ ।

    गाउँपालिका अध्यक्ष डीबी लामाको अध्यक्षतामा बसेको बैठकले सोही क्षेत्रमा हामेस्टे व्यवस्थापनका लागि ३० घरलाई प्रति होमस्टे १० हजार अनुदान उपलब्ध गराउन निर्णय गरेको छ । होमस्टेका लागि तोकिएको मापदण्ड क्षेत्रगत सन्तुलन व्यक्तिगत तत्परता तथा पर्यटकको सुविधालाई ध्यान दिई तीन वटै वडा कार्यालयका व्यक्तिहरुको नामावली सिफारिस गर्ने निर्णय गरेको छ ।

    तिनधारे झरना जाने भाइचाको घरदेखि भञ्ज्याङसम्म ट्रयाक खोल्ने, भञ्ज्याङमा पार्किङ निर्माण, झरना झर्ने सिंढी र रेलिङ, शौचालय निर्माण, होमस्टे प्रवर्द्धन, झरनाको डिपिआर निर्माण, चुनिङटार खहरे खानेपानीको पाइपको विकल्प व्यवस्थापन, झरना हेर्ने डाँडामा रेलिङ निर्माण, फोहोर व्यवस्थापन, झरनाको सुरक्षा व्यवस्थापनको कार्य तत्काल आरम्भ गर्ने र सो को लागि लाग्ने रकम मध्ये प्रत्येक वडाको लागि विनियोजित रकमबाट ३ लाख कटौती गर्ने र कटौती गर्ने आयोजना वडाले ७ दिन भित्र गाउँपालिकामा पेश गर्ने निर्णय गरिएको गाउँपालिका अधयक्ष डिबी लामाले जानकारी दिनुभयो ।

    बैठकले कोभिड १९ को आय व्यय सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा भत्ता दोस्रो चौमासिक देखि बैंकिङ प्रणाली मार्फत वितरण गर्ने र सोको लागि बैंकसँग सम्झौता गर्ने निर्णय गरेको छ । त्यस्तै जग्गा प्राप्ति ऐन अनुसार लक्ष्मी नारायण मा वि लाई आवश्यक जग्गा साविक शिखरआम्वोटे–८ का जग्गाधनी सुनमाया तामाङको कित्ता नं १११७ र ३९७ को क्षेत्रफल १–११–२–३ को जग्गा खरिदका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी समक्ष आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

    रासायनिक मल वितरणको लागि सूचिकृत हुन रोशी गाउँपालिका क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई जानकारी गराउने बैठकले निर्णय गरेको छ । त्यस्तै गाउँपालिका क्षेत्रमा रहेका युवा उद्यमीहरुका लागि विन्धवासीनि सहकारी संस्था मार्फत व्याज अनुदानमा ऋण लगानी गर्ने जम्मा लाग्ने ११.५५ प्रतिशत व्याज मध्ये गाउँपालिकाबाट ५५ प्रतिशत व्याज अनुदान उपलब्ध गराउने साथै यस कार्यका लागि प्रत्येक वडाबाट कम्तिमा ५ जना युवालाई व्यावसायिक बनाउन प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस