सुनसरीको रामधुनी नगरपालिका ५ की एक किशोरी बली चढ्नबाट जोगिएकी छन्।
१७ वर्षीया किशोरीलाई सीमा क्षेत्र बिराटनगर महानगरपालिका १७ इश्लामपुरको बाटो हुँदै भारत लैजाने क्रममा उद्धार गरिएको हो।किशोरीलाई बली चढाउन भारत पुर्याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ। घटनाको प्रकृति र कनेक्सन हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका छ, बाँकी कुरा अनुशन्धान बाट खुल्ने छ’ मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा सप्तरी विष्णुपुर ५ का २८ वर्षीय सुमितकुमार मण्डल, सप्तरीको तिलाठीकैलाडी १ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका ३ घर भएका सुनसरी रामधुनी ५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल छन् ।
उनकाअनुसार घटनाका मुख्य योजनाकार सुमित भएको खुलेको छ। सुमितले मनिकासँग मिलेर, प्रदीपको सहयोग लिएर किशोरीलाई भारत पुर्याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कन्याकेटीलाई पूजामा राखेर टीका लगाइदिँदै पाँच हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर किशोरीकी आमालाई मनिकाले विश्वस्त पारेको अनुसन्धानका क्रममा पाइएको छ।
आफ्नो पनि पैसा आउने भएकाले किशोरीलाई एउटा मोबाइल समेत किनिदिने भन्दै मनिकाले थप प्रलोभन देखाएर लगेको प्रारम्भिक सोधपुछका क्रममा पाइएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस