२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

खानेपानी र सडक निर्माणमा केन्द्रित छौँ : महेश खरेल-प्रमुख, पाँचखाल नगरपालिका

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३३४७ पाठक संख्या
  • बाल काँग्रेस हुँदै राजनीतिमा सक्रिय महेश खरेल पढाइको सिलसिलामा १४ बर्ष अमेरिका बसे । अमेरिकामा राम्रै विजनेस चल्दै थियो । त्यहाँ धेरै कुरा सिके । उनलाई नेपालमै केहि गरौं भन्ने हुटहुटी चल्यो । मर्नुभन्दा पहिले नेपालमै केही गर्नका लागि २०६७ सालको माघमा नेपाल फर्किए । त्यसपछि होलटाइम राजनीति र समाजसेवामा समर्पित भए । नेपाली काँग्रेसको क्षेत्रीय सभापति रहेका खरेल २०७४ सालको स्थानीय चुनावमा पाँचखाल नगरपालिमामा मेयर निर्वाचित भए । चुनावअगाडि मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्न लागिपरेका अझ भनौ मेयर भएपछि ‘म जागिर खान आएको होइन, तलब भत्ता दीन दुःखीको हितमा खर्च गर्छु’ भन्दै चर्चामा आएका उनै मेयर महेश खरेल सँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    आजकल के मा व्यस्त हुनुहुन्छ ?
    आजभोली कोरोनाको महामारीका कारण अघिपछिको जसरी नै कामहरू गर्न सकिएको छैन । हामी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नमा व्यस्त छौँ । कोरोना भाइरस देखिएमा उहाँहरुलाई सुरक्षित तवरले राख्ने, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन गर्ने भन्ने कुरामा नै अहिले हामी लागि परेका छौँ । हाम्रोमा अहिले १० बेडको आइसोलेसन तयार पनि भइसकेको छ । ४५ बेडको क्वारेन्टाइन पनि अहिले हामीसँग तयारी अवस्थामा छ । अहिले हामी त्यहाँ रहनुभएका गरिकहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा नै व्यस्त छौँ । त्यसैगरी उच्च जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरामा हामी लागि परेका छौँ । योसँगै हामी अहिले विकास निर्माणका कामहरू अगाडी बढाउनेतर्फ पनि उन्मूख छौँ । प्राविधिकहरूले यसको इष्टमेट तयार पार्ने बजेट बनाउने काममा लागेका छौँ । हाम्रोमा गएको हप्तामा मात्र १५ वटा टेन्डरहरू खोल्ने काम पनि गरेका छौँ । विगतका वर्षहरूमा दशैं पछाडी टेण्डर आव्हान गर्ने काम गरेका थियौँ भने अहिले चाहीँ हामीले यसको काम सुरू गरिसकेका छौँ । नगरको आयस्रोत कसरी बढाउन सकिन्छ भन्नेमा पनि हामी लागि परेका छौँ ।

     यो सालका लागि तपाईको निकायमा मुख्य के के योजना अघि सार्नु भएको छ ?
    अघिल्ला वर्षहरूमा झैँ हामी यो वर्ष पनि पूर्वाधार विकासमा जोड दिएर काम गर्ने भनेर योजना बनाएका छौँ । प्रत्येक वडामा एउटा पिच बाटो पुर्याउने हाम्रो लक्ष्य छ । मुख्य राजमार्र्ग बाहेक नै हाम्रो नगरपालिकाको ६ वटा वडामा हामीले सडक कालोपत्रेको काम सक्काएका छौँ । बाँकी रहेका ७ वटा वडामा पनि हामी सडक कालोपत्रे गर्ने कामलाई निरन्तरता दिदैँ छौ । यसमा पनि हामीले पाँचखालका कुना काप्चामा रहेका ठाउँहरूलाई विषेश प्राथमिकतामा राखेका छौँ । किनभने हाम्रो उद्देश्य भनेको कालोपत्रे सडक देख्नको लागि हाम्रो नगरका कुनै पनि नागरिक पलाञ्चोक क्षेत्र वा तामाघाट क्षेत्र पुग्नु नपरोस भन्ने हो । यही अनुसार हामीले सडकको कामहरूलाई अगाडी बढाएका छौँ । हामीले नगर भित्रको सबै कुरामा पछाडी परेका र बिकट क्षेत्रलाई छनौँट गरेका छौँ ।

    चुनावताका जनतालाई दिनु भएको आश्वासन के कति पुरा भए कति बाँकी छन् ?
    चुनावताका पनि हामीले पुरा नहुने कुनै वाचा गरेका थिएनौँ । अनर्गल गरेर चुनाव जितेका पनि हैनौँ । त्यसो भन्दैमा बाचा नगरेका हैनौँ । बाचा थिए । हाम्रो कार्यकाल अझैँ बाँकी छ त्यो भएकाले हामीले गर्ने काम पनि अझै बाँकी छ । हाम्रो चुनावको बेला हामीले जनतालाई दिएको आश्वासन पुरा गर्ने सक्दो प्रयास गरेका छौं र हामी हाम्रो कार्यकाल भित्रमा हाम्रो यो बचनलाई पुरा गर्नेछौँ । खानेपानी र सडक निर्माणमा अहिले हामी केन्द्रित छौँ । हामी हाम्रो आश्वासन पक्कै पनि पूरा गर्नेछौँ ।

    जनताले घरमै सिंहदरवार महशुस हुने के के काम गर्नुभयो ?
    यसमा विशेष गरेर हामीले रोजगारीका कुराहरूलाई जोड दिएका छौँ । यसमा पनि युवा तथा महिलालाई छनोैट गरेका छौँ । हिजो चुनावताका पनि सबै राजनैतिक दलले यो कुरामा जोड दिएको थियो । आज हामी सबैको साझा आवाजको रूपमा साझा सवाल पुरा गर्ने कोशिसमा लागेका छौँ । पाँचखालमा धेरैलाई रोजगार दिने खालका योजनाहरू अगाडी बढेको छ । पाँचखालमा विशेष आर्थिक क्षेत्र बन्दै छ । महिला औद्यागिक ग्रामको काम शुरु भएको छ । त्यहाँ रोजगार सिर्जना हुन्छन् । सुनकोशी खानेपानी आयोजना शुरु भएको छ । सुनकोशी खानेपानी नपुग्ने ठाउँमा छुट्टै खानेपानीका योजनाहरु सञ्चालन गरेका छौं । सडक प्रत्येक टोलमा पु¥याउने कामहरू पनि भएका छन् ।

     शिक्षाका लागि के के गर्नु भयो ?
    शिक्षाको कुरामा चाहीँ अहिले कोरोना भाइरसको समयमा पनि कसरी अगाडी बढाउन सकिन्छ भन्ने तर्फ लागेका छौँ । यसमा हामीले अनलाईन र रेडियोहरूलाई छानेर त्यहाँबाट पढाउने काम गरेका थियौँ । अहिले भने केन्द्रिय सरकारको केही निर्देशनहरूलाई हामीले पालना गरेर यो प्रक्रिया रोकेका छौँ । हामीले शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने काम र पुस्तक वितरणका काम गरिसकेका छौँ । अहिले भने हामी शिक्षालाई कसरी अगाडी बढाउन सक्छौँ भन्ने कुरामा लागेका छौँ । यसको माध्यमहरू पनि खोजि गरिरहेका छौँ । यो कोरोना भाइरसको विषम परिस्थितिमा झन् गारो भएको छ । शिक्षाको क्षेत्रमा हामीले विद्यालय व्यवस्थापन समितिलाई तालिम दिने काम, भौतिक तथा गुणस्तर सुधारका काम गरेका छौँ । शिक्षकहरूलाई पनि विभिन्न विषयमा रहेर तालिम दिइरहेका छौँ । त्यस्तै पाँचखालमानै मदन भण्डारी विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालय बन्दै छ । नगरपालिकाले संघ सरकार सँगको समन्वयमा सञ्चालन हुने गरी मदन भण्डारी विश्वविद्यालयलाई जग्गा उपलब्ध गराएको छ भने काठामाण्डौ विश्वविद्यालयले सञ्चालन गर्न लागेको कृषि क्याक्पसको लागि समेत जग्गा उपलब्ध गराइसकेका छौं । शिक्षा सँग सँगै रोजगारीको पनि सिर्जना गरिरहेका छौं ।

    तपार्ईको निकायमा खानेपानीको अवस्था के छ ?
    हामीले अहिले सुनकोशी खानेपानी आयोजना अगाडी बढाइरहेका छौँ । यो आयोजना पाँचखालको गौरवको आयोजना रहेको छ । यसमा हामीले हर मुस्किलको सामाना गर्दै निर्माणको कामलाई अगाडी बढाएका छौँ । अहिले त्यहाँ निर्माण हुने ठाउँमा हामीले बाटो पुर्याउने काम गरिरहेका छौँ । यसैगरी कोशिदेखाको लागि पनि छुट्टै आयोजना छ । केही समयमा नै हामी खानेपानी सबैको घरमा पुर्याउने छौँ र उहाँहरूले स्वस्थ खानेपानी खान पाउनुहुने छ ।

    नगरमा स्वास्थ्यको अवस्था के छ ? आधारभुत स्वास्थ्य सेवा तपाईको पालिका भित्र २४ सै घण्टा प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको छ ?

    स्वास्थ्यको क्षेत्रमा अहिले कोरोना बाहेकका काममा मोतीयाबिन्दु मुक्त नगरपालिका बनाउन हामी लागेका छौँ । विगत ३ वर्षदेखि नै हामी यो कुरामा केन्द्रित छौँ । उपप्रमुखज्युको पनि छुट्टै कार्यक्रम छ । प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माणको काम गरेका छौँ । त्यसैगरी ७० वर्ष नाघेका वृद्धवृद्धाको लागि पनि वार्षिक रूपमा स्वास्थ्य जाँच गराउने कुरामा हामी लागि परेका छौँ । यो वर्षबाट सुगर र प्रेसरका सेवाहरू पनि हामी सञ्चालन गर्दैछौँ । अहिले हामीले अत्यावश्यक सेवाहरू चाँही २४ सै घण्टा उपलब्ध गराएका छौँ । त्यसैगरी एम्बुलेन्स पनि २४ सै घण्टा उपलब्ध छ । त्यो बाहेक वडागत रूपमा रहेका स्वास्थ्य संस्थामा पनि यस्ता सेवा उपलब्ध छ । जनप्रतिनिहरूको सवारी साधन किन्ने पैसाले हामीले एम्बुलेन्स र दमकल पनि किनेका छौँ । दमकल चाँही सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी जिम्मा दिएका छौँ । अहिले गम्भिर प्रकारको रोग लागेमा घरमा नै एम्बुलेन्स पु¥याउने काम पनि गरेका छौँ । यो विपद्को समयमा पनि हाम्रो स्वास्थ्यकर्मीहरू अहोरात्र खटिराख्नु भएको छ । यसमा हामी निकै हर्षित पनि छौँ ।

    गरिब र असाहयका लागि गम्भिर प्रकृतिको रोग लाग्दा केही आर्थिक सहयोग दिने नीति छ ?
    छ । आर्थिक अवस्था कमजोर भएका जुन अस्पताल र वडा कार्यालयको सिफारिसको आधारमा नगरपालिकाले १० हजार नगद दिने गरेको छ । यसमा गम्भिर प्रकृतिको रोग लाग्दा नगरपालिकाले सहयोग गर्ने गरेको छ ।

    कोरोनाको अवस्था के छ ? कसरी काम गरिरहनुभएको छ ?
    पाँचखाल नगरपालिकामा कोरोनाको कारण १ जनाको मृत्यु र १४ जनामा कोरोना संक्रमण देखियो । पाँचखाल १ का महिलाको उपचारको क्रममा किष्ट अस्पतालमा निधन भयो । लगत्तै नगरपालिकाबाट उहाँ सँग सम्बन्धितको कन्ट्याक ट्रेसिङ गरेर स्वाब संकलन गरियो । म आफै फिल्डमा पुगे, भलै अन्यमा कोरोना संक्रमण देखिएन । पाँचखालमा देखिएका मध्ये पनि धेरै जसो बाहिरी मुलुकबाट आएका बढि हुुनुहुन्छ । पाँचखाल नगरपालिकाले जिल्लामानै पहिलोपटक आइसोलेसन सञ्चालन गर्यो । हाम्रो नगरभित्र संक्रमण देखिएकाहरुलाई यहि उपचार गर्छौ । क्वारेन्टाइन सञ्चालन गरेका छौ । हामीले यो विचमा विपन्न परिवारलाई खाद्यान्न लगायतका सामाग्री वितरण गर्यौ । नगरवासी सचेत हुनुभएकोले अहिले कोरोनाले ठुलो रुप लिन सकको छैन् । नगरवासीहरुलाई अझै के भन्न चाहान्छु भने कोरोनाको अझै औषधि बनिसकेको छैन् । सके सम्म सुरक्षा अपनाएर मात्र हिडिदिनुस् । मास्क लगाउनुस, सामाजिक दुरी कायम गरिदिनुस ।  यो समयमा खट्नुुहुने जनप्रतिनिधि, नगरका कर्मचारी, विशेषगरी स्वास्थ्यमा खटिनुभएका कर्मचारी र सुरक्षाकर्मीहरुलाई हार्दिक सम्मान र धन्यवाद दिन चाहान्छु ।

    कृषिलाई आधुनिकिकरण, यान्त्रिकिकरण, व्यवसायिकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनु भएको छ ?
    पहिले म कृषि यान्त्रिकरणको कुरा जोड्न चाहन्छु । यसमा हामीले हाते ट्याक्टर वितरणको काम गरेका थियौँ यसमा पनि विशेष गरी अहिले ठुला ट्याक्टका कुरामा हामी कसरी वितरण गर्न सकिन्छ भनेर लागेका छौँ । यो कार्यक्रमबाट लगभग ५ सय किसान लाभान्वित हुनु भएको छ । यसैगरी पिछडिएका वर्गको लागि पशुपक्षिंका कार्यक्रम अगाडी बढाएका छौँ । यसमा विभिन्न संघसंस्थाको सहयोगमा पनि काम गरेका छौँ । जस्तै बाख्रापालन तथा पाडा पाडी वितरणका कामहरू पनि गर्न खोजिरहेका छौँ । मौरी पालनका कुराहरू भए । विभिन्न ठाउँलाई पकेट क्षेत्रको रूपमा विकास गर्ने भनेर लागेका छौँ । तर यो व्यवसायिकरणका कार्यक्रम ल्याइरहँदा बजारीकरणका कामहरू गर्न चाहीँ अलि समस्या नै हुने रहेछ तर यहाँ उत्पादन भएका तरकारीलाई टाढा टाढासम्म पु¥याउनको लागि हामी लागि परेका छौँ । अहिले किसानहरूलाई मलको अत्याधिक समस्या परेको कारण हामी यसको समधानतर्फ लागेका छौँ । यो बर्ष देखि कृषकसँग मेयर कार्यक्रम सञ्चालन गर्दैछौं । यस अन्र्तगत सबै वडामा पुगेर कृषकका समस्याका विषयमा अन्र्तक्रिया गर्छौ । नगरपालिकाभित्र १ सय ८ स्थानमा पोखरी बनाउँछौं । कतिपय पोखरी बनिसकेका पनि छन् । अहिले पनि दुलालथोकमा १२ लाख पानी रिचार्ज हुने गरी पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ। झिंगु खोलामा ड्याम बाँध्ने र त्यहाँको पानीलाई कृषिमा कसरी सदुपयोग गर्ने भनेर डिपिआर तयार भएको छ। खानेपानी र कृषिलाई ध्यान दिएर काम भइरहेको छ।

    पाँचखाललाई काठमाडौंको उपत्यकापछिको अर्को व्यवस्थित कृषियोग्य उपत्यका बनाउन सकिन्छ भन्ने जानकारले बताइरहेका छन्, पछिल्लो समय इँटाभट्टा सञ्चालन गर्न थालेपछि पाँचखाल प्रदूषित भएको छ, यसको समाधान कहिले खोज्ने ?
    यस विषयमा हामीले गम्भीर चासो दिएका छौं। हामी आउनुपूर्व नै यहाँ भट्टा चलिरहेका थिए। म आएपछि कुनै इँटाभट्टा सञ्चालनको स्वीकृति दिएको छैन र दिन्न पनि । हामीले इट्टा भट्टा सञ्चान गर्ने कार्यविधि र ऐन बनाइसकेका छौ । अब यहाँका भट्टा व्यवस्थित हुन्छन् । मापदण्ड पुरा नगरेका चल्न दिदैनौं । नयाँ भट्टा खोल्न पनि दिदैनौं । प्रदुषण गर्ने एउटा प्लाई कारखाना भने बन्द गराईसकेका छौं ।

    पाँचखालको तरकारीमा विषादिको मात्रा धेरै छ भन्ने गरिन्छ यसमा स्थानीय सरकारले के गरिरहेको छ ?
    हामी त्यो परिभाषा बदल्दै छौं । पाँचखालले आफूमाथि लागेको विषादीको दागलाई कम गर्दै लगेको छ । सामान्यतया ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारीहरू खानयोग्य हुन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएका तरकारी केही दिन पर्खेर खान सकिने खालका हुन्छन् । ४५ प्रतिशतभन्दा बढी विषादी भएका तरकारी खान योग्य हुँदैनन् । पाँचखालका तरकारीमा ११ प्रतिशत मात्र विषादी प्रयोग भएको छ । विषादीको प्रयोग घटाउन र उत्पादकत्व बढाउन पाँचखालका एक सय ठाउँको माटो परीक्षण गरेर माटो सुधारको काम शुरू भएको छ । यसका लागि कृषकलाई १ लाख किलो चुन नगरपालिकाले बितरण गरेको छ । जाइकाको सहयोगमा ६ सय अगुवा किसानलाई अर्गानिक मल र विषादी बनाउने तालिम दिइएको छ । नगरकै प्राङ्गणमा माटो परीक्षण गर्ने ल्याब सञ्चालन गरेका छौं ।

    बेरोजगार युवायुवतीलाई कसरी रोजगार सिर्जना गर्दै हुनुहुन्छ ?
    रोजगारी सिर्जना मेरो मुख्य प्राथमिकता हो । चुनावको बेला मैले यस नगरमा ५ बर्षमा ३ हजारलाई रोजगार दिने प्रतिबद्धता गरेको थिए । अबको बाँकी समय सम्म त्यो प्रतिवद्धता पुरा हुन्छ । हाल सम्म करीब चार सयलाई विभिन्न ठाउँमा रोजगारीको लागि व्यवस्थापन भएको छ । म नगरप्रमुख भएपछि शिलान्यास गरेको भेटेरिनरी उद्योगमा थप ३ सय ५० लाई रोजगारी दिनेगरी सञ्चालनमा आउँदैछ । निरन्तरको घच्घचाईबाट सरकारले निर्णय गरेको धेरै पछि कार्यान्वयनमा आउन नसकेको विशेष आर्थिक क्षेत्र सेजका लागि जमिनको व्यवस्था तथा भवन निर्माणका काम भईरहेका छन् । निर्माण सम्पन्न भएपछि ५७ उद्योगबाट धेरै रोजगारी सिर्जना हुन्छ । पाँचखालमै महिला हरित औद्योगिक ग्राम निर्माणको काम शुरु भएको छ । औद्योगिक ग्राममा पाँचखालको कृषि उपजलाई प्रवद्र्धन गर्नका लागि हरित महिला उद्यमी केन्द्र बनाएर रोजगारी र यहाँको उत्पादन देश विदेशमा पठाउने योजना छ । महिलाले मात्र उद्यम सञ्चालन गर्न पाउने र महिला कामदार रहनेगरी टमाटरको केचप, आलुको चिप्स र लप्सीको माडा लगायत उत्पादन र प्याकेजिङ गर्ने उद्यम केन्द्र बन्छ । मदन भण्डारी विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयको निर्माणपछि स्थानीय धेरैले रोजगारको अवसर पाउँनेछन् । विभिन्न योजनाहरू पूरा हुन पाए भने काठमाडौंको विकल्पमा पाँचखाल शहर बन्छ ।

    पालिकास्तरमा भू–उपयोग नीति तयार गरी बस्ती, खेति, औद्योगिक, पार्क र वन क्षेत्र घोषणा भएको छ ?
    यसको पनि पुरै तयारी भैसकेको छ । भू–उपयोग नीति तयार भैसकेको छ । कार्यान्वयनको चरणमा जानको लागि भने अहिले कोरोना भाइरसको कारण अलि समस्या भइरहेको छ । कोरोना भाइरस अलि साम्य हुनासाथै हामी कार्यान्वयनको चरणमा अगाडी बढ्ने छौँ । घोषणको काम चाडैँ नै हुनेछ । यस अघि नै हामीले पाँचखाल नगरपालिका भित्र रहेका खेतियोग्य जमिनमा प्लटिङ गर्न रोकेका छौं ।

    महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि के के कार्यक्रमहरू छन् ?
    लक्षितवर्गका लागि पनि हामीले कार्यक्रम बनाएका छौँ । सीपमुलक तथा जनचेतनामुलक कार्यक्रमहरू ल्याएका छौँ । महिलाहरूलाई विशेष गरी सावन बनाउने, क्रिष्टलको माला बनाउने, स्वेटर बनाउने, व्युटिपर्लर तालिम, लगायतका सिपमुलक कार्यक्रमहरू सञ्चालज भएका छन् । दलित समुदायको लागि पनि उस्तै कार्यक्रमहरू छन् । पछाडी पारिएका वर्ग र बालबालिकाको लागि पनि उस्ता उस्तै कार्यक्रमहरू छन् । उहाँहरूको अधिकारका कुराहरूलाई हामी प्राथमिकताका साथ अगाडी बढाइरहेका छौँ । बजेट पनि राम्रै छन् ।

    कार्यालयबाट सम्पादन हुने सबै कामहरूको नागरिक बडापत्र तयार गरि सबैले देख्ने ठाउँमा राखी त्यस बमोजिम अनुसरण भएका छन् ?
    छन् । तर यसलाई फेरी एकपटक हेरफेर गर्नुपर्ने छ । अहिले जति हामीले त्यस अनुसार अनुसरण गर्ने काम त भइ नै रहेको छ । कार्यालयबाट सम्पादन हुने सबै कामहरूको नागरिक बडापत्रमा राखिन्छ । र त्यो सबैले देख्ने ठाउँमा पनि छ ।

    पालिकाको वेबसाईट निर्माण गरि पारदर्शी र प्रविधियुक्त छ ?
    यसमा हामी एकदमै अगाडी नै छौँ । हाम्रो वेबसाईट छ । अनि यो पारदर्शी तरिकाले नै सञ्चालन भइरहेको छ । नागरिकहरूले त्यहाँ भिजिट पनि गर्नुहुन्छ । अहिलेसम्म हामीले जति पनि काम गर्छौ या तयारी हुन्छ त्यो हामीले वेबसाईटमा राखिदिन्छौँ । यो पनि राम्रो नै छ ।

    तपाईको कामबाट नगरवासी खुसी छन् ? आफ्नो कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने सपना छ ?
    जनता खुसी छन र छैनन् भन्ने तपाईहरु जस्तो मिडिया, यहाँका नागरिक समाज र जनताले मुल्याङकन गर्ने कुरा हो । अझ यो प्रश्न तीनै जनतासँग लिनुभए राम्रो । तर, जहाँसम्म हामीले गरेको कामप्रति उहाँहरू खुसी हुनुहुन्छ । हामीले आफूलाई दिएको अधिकारमा टेकेर काम गरेका छौं। नगरपालिकाको बजेट दुरुपयोग हुन दिएको छैन । अर्को कुरा, मैले सकेसम्म चुनावमा जसरी अहिले पनि टोलटोलमा पुगेर स्थानीयका समस्या सुन्ने गरेको छु । उहाँहरूका हरेक समस्यामा सारथि बनेको छु। उहाँहरूका समस्यामा केन्द्रित रहेर काम गर्दा खुसी लागिरहेको छ। यसअघिको सरकारले धेरै काम नगरेका कारण जनप्रतिनिधिप्रति जनताको ठूूलो अपेक्षा थियो। जनतालाई मर्का पर्ने काम हामीले गरेका छैनौं । म जनताको सेवक हुँ, शासक हैन । सबै जनप्रतिनिधिमा सेवक हुँ भन्ने सोच र भावना हुन जरुरी छ । यो अवधिमा राम्ररी काम गर्ने हो भने नाम पनि रहन्छ र जनता पनि खुसी हुन्छन्। मैले यो अवधिमा चुनावमा उठाएका सबैजसो योजनामा केन्द्रित रहेर काम गरिरहेको छु र गर्छु । सायद राम्रो काम गरेर नै होला आर्थिक बर्ष २०७६÷०७७ मा बागमती प्रदेश सरकारले उत्कृष्ठ नगरपालिका भनेर पुरस्कृत गरेको ।

     तपाई अमेरिकामा पुगेको व्यक्ती, कत्ति मान्छे अमेरिका भनेपछि लुक्न समेत बेल लगाउँदैनन्, तपाईलाई के भयो र त्यस्तो नेपाल फर्केर आउनुभयो ?
    म मर्नकै लागि अझ भनौ मर्नुभन्दा पहिले नेपालमै केही गर्नका लागि नेपाल फर्किएँ । म उच्च शिक्षाको लागि अमेरिका गएँ । अमेरिकामा एमबीए सम्मको अध्ययन गरे । इन्टरप्रेनरसीपको अध्ययन गरेको मैले अमेरिकाको मार्टमा नाङ्लोदेखि व्यापार शुरू गरेर धेरै कमाइ हुने ग्यास स्टेसनसम्म खोले । व्यापार फस्टाएकै थियो, तर मलाई नेपाल आउन मन लाग्यो । अमेरिकामा जाने सबैको एउटै लक्ष्य हुन्छ पहिला अध्ययन र त्यसपछि पैसा कमाउने । मैले दुबै गरे । रहर छउन्जेल बसे, त्यहाँ धेरै कुरा सिकेँ । त्यसलाई नेपालमा पनि केहि गर्नुपर्छ भनेर पर्किए । देशमा फर्केर केही गरौं भन्ने हुटहुटीले २०६७ सालको माघमा स्वदेश फर्किए । त्यसपछि राजनीति र समाजसेवामा समर्पित भएँ । नेपालमा सबै राजनीतिक दलमा खराब तत्वको घुसपैठ र बिगबिगी रहेको देख्छु । मेरो सक्रियता र पार्टीको विश्वासले २०७४ सालको स्थानीय चुनावमा विजयी भएँ । का राम्रै भैइरहेको छ । चुनावअगाडि मतदातासामु केही प्रतिबद्धता गरेको थिएँ, त्यो पुरा गर्दैछु । म जागिर खान आएको होइन, तलब भत्ता दीन दुःखीको हितमा खर्च गर्छु । सपना देखेरै १४ वर्षपछि विदेशबाट नेपाल फर्केको हुँ । जनप्रतिनिधिको रुपमा चुनिएपछिको पाँच वर्षको तलब–भत्ता पनि सामाजिक काममा लगाउँदै छु। राजनीतिमा लागेर बजेटको दुरुपयोग र मोजमस्ती गरेर भुल्न चाहन्न । म जनताको सारथि हुँ। जति बाच्छु जनताको सेवामै बाच्छु । मेरो केन्द्रीय राजनीतिमा प्रवेश गर्ने सोच छ । मेरो सोच पूरा गर्नको लागि जनताले साथ दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।

    प्रतिक्रिया दिनुहोस