रोशि गाउँपालिका वडा नं. १ फलामेसाँघुमा १० शैयाको अस्पताल निर्माण हुने भएको छ । सोही स्थानमा रहेको खहरेपाँगु स्वास्थ्य चौकिलाई स्तरोन्नती गर्दै स्थाई रुपमा १० शैयाको अस्पताल निर्माण हुने भएको हो ।
खहरेपाँगु हस्पिटल व्यबस्थापन समितिको अध्यक्ष एवं नेपाली काँग्रेसको युवा नेता गणेश लामाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले तत्काल रोशी गाउँपालिकाको सहयोग र समन्वयमा कोभिड १९ लाई मध्यनजर गरेर यही असोज १५ गते भित्र ५ शैयाको अस्थाई अस्पताल बनाउने भएको हो । कोभिड अस्पतालको रुपमा रोशि गाउँपालिकालाई अस्थाई अस्पताल निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको दश लाख रुपैंयाबाट अस्थाई रुपमा अस्पताल निर्माण गरिने र पछि त्यसैलाई १० बेडको स्थायी अस्पताल बनाउने समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
मन्त्रालयबाट प्राप्त रकमले पाँच लाखको वेड व्यबस्थापन, पचास हजारको औषधी खरिद र चार लाख पचास हजारको कर्मचारी व्यवस्थापन गरिनेछ ।
वेैठकले ५ शैयाको अस्थाई अस्पताल निर्माण गर्न उप–समिति गठन गरेको छ । उक्त ५ शैयाको अस्थाई अस्पताल निर्माण तथा व्यवस्थापन गर्न ं समाजसेवी शंकरदास लामाको संयोजकत्वमा ५ सदस्यीय उप–समिति गठन गरेको हो ।
रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, वडा नं. १ का वडा अध्यक्ष श्रीदास लामा, रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठ समेतको उपस्थितीमा बैठक बसेको थियो । गाउँपालिका अध्यक्ष डि.बि. लामाले अस्पताल निर्माण भए पछि सबैलाई स्वास्थ्य सुविधा हुने भएकोले सबैको सहयोग र समन्वयको आवश्यक पर्ने बताउनुभयो । उहाँले गाउँपालिका तथा व्यक्तिगत आफु सदैव जनताको पक्षमा र सेवामा दिन रात नभनी समर्पित रहेको बताउनुभयो ।
गाउँपालिकाले १० शैयाको अस्पतालको लागि पचासी लाख रुपैयाको टेन्डर हुने र आगामी नयाँ आर्थिक बर्ष २०७८÷०७९ मा दश करोड रुपैंयाको बजेट आउने पक्का–पक्की भई सकेको प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिनुभयो ।
अस्पताल निर्माण रोशी गाउँपालिकाको वडा नं. १, २ र ३ को संगम स्थलको रुपमा परिचित फलामेसाँघुमा रहेको अठ्ठासी रोपनी सार्वजनिक जग्गामा गरिने छ । सार्वजनिक जग्गा केहि व्यक्तिहरुले घर टहरो निर्माण गरेर व्यपार गर्दै आइरहेका छन् । गाँउपालिका र अस्पताल निर्माण समितिले १५ दिन भित्र भोगचलन गरि रहेका व्यक्ति स्वंयम्ले आ–आफ्ना घर टहराहरु हटाउन सूचना टाँस गरिएको छ ।
सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन सूचना टाँस गर्दै गाउँपालिका अध्यक्ष र निर्माण समितिका अध्यक्ष ।
खहरेपाँगु हस्पिटल व्यबस्थापन समितिका अध्यक्ष गणेश लामाले अस्पताल निर्माणमा सहयोग पुर्याउन सबैलाई अनुरोध गर्नुभयो , उहाँले बस्तीलाई व्यवस्थापन गर्ने बारे छलफल गरिने र कोहि कसैलाई समस्यमा नपार्ने जानकारी दिदै विकास र स्वास्थ्य सुविधा प्राप्त गर्ने सुनौलो अवसर आएको हुनाले यसमा सबैको सहयोगको अपेक्षा समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस