२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

रोशीमा ‘जसको मन, उसैलाई संरक्षण’ अन्तर्गत माछाका भुरा र नगद हस्तान्तरण

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ७४५ पाठक संख्या
  • रोशी गाउँपालिकाले ‘जसको मन, उसैलाई संरक्षण’ अन्तर्गत कृषकलाई अनुदान सहित माछाका भुरा वितरण गरेको छ ।

    गाउँपालिकाले तीन जना किसानलाई अनुदान सहित माछाका भुरा वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिनुभयो । ‘जसको मन उसैलाई संरक्षण’ अन्तर्गत माछापालनमा लागेका वडा नं. ७ का भीम लामा, वडा नं ९ का कुमार लामालाई माछाको भुरा र नगद तथा वडा नं ११ का बलराम आलेमगरलाई नगद मात्र सहयोग गरिएको हो । भिम लामा र कुमार लामालाई २१ हजारको दरले माछाको भुरा सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो । त्यस्तै माछा पोखरी बनाउन गाउँपालिकाले कुमार लामालाई ३ लाख ५० हजार रुपैंया, बलराम आले मगर र भीम लामालाई जनही दुई लाख पचास हजारका दरले नगद समेत सहयोग गरिएको छ ।

    अनुगमनको क्रममा रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले कृषि तथा पशुपालनको क्षेत्रमा नमुना काम गर्ने जुन सुकै कृषकलाई गाउँपालिकाले साथ र सम्मान गर्ने बताउनुभयो । कृषि र पशुपालनको क्षेत्रमा अत्यन्त सम्भावना भएको क्षेत्र भएको हुनाले कृषकहरुलाई उत्प्रेरित गर्दै अगाडि बढिरहेको उहाँको भनाई छ । कृषकले नमुना योग्य, व्यवसायिक, उत्पादनमुखी र उपलब्धिमूलक कार्य गरेर देखाउने कृषकलाई अनुदान, पुरस्कार र सम्मान सहित कार्यक्रम गर्दे आएको समेत गाउँपालिका अध्यक्ष लामाको भनाई छ ।

    यस बर्षको वार्षिक कार्यक्रममा जसको मन उसैलाई संरक्षण भन्ने मान्यतालाई आत्मसात गर्दै गाउँपालिका भित्र मौरी पालन गर्ने २ जना कृषकलाई ३ वटा घार मौरी सहित पुरस्कृत गरिने, सबै भन्दा धेरै दूध उत्पादन गर्ने दुई कृषकलाई ३० हजार बराबरको बाछी किन्न अनुदान दिईने, सबै भन्दा धेरै बाख्रा पालन गर्ने दुई कृषकलाई तीस हजार बराबरको बाख्रा किन्न पुरस्कार दिइने उल्लेख गरिएको छ । यस आर्थिक बर्ष २०७७।०७८का लागि कृषि तर्फ ४० लाख र पशुपालन तर्फ २५ लाख रकम गाउँपालिकाले विनियोजन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस