तेमाल गाउँपालिका वडा नं २ का कृषकलाई सिस्नोको पाउडर बनाउने तालिम शुक्रवारबाट शुरु भएको छ । तेमाल २ चुखा मिलिजुली कृषक समुहका २५ जना स्थानीय सिस्नोको पाउडर बनाउने तालिममा सहभागि छन् ।
तेमाल गाउँपालिका,युएनडिपिको आर्थिक सहयोगमा र शान्ति जन आदर्श सेवा केन्द्र काभ्रेको साझेदारीमा सिस्नोको पाउडर बनाउने तालिम दिइएको हो ।
तरकारी बाहेक अन्य पेशा व्यवसाय नगरेका स्थानीय महिलाहरुले सिस्नोको महत्व बुझेको जानकारी दिएका छन् ।
सिस्नु मुटुरोग, दम,हाड जोर्नी, बाथ रोगका बिरामिहरुका लागि औषधितुल्य हुने भएकोले नेपालमा यसको माग अनुसार आपूर्ति हुन सकेको छैन । बजारको सम्भावना देखेपछि यहाँका स्थानीय सिस्नु पाउडर उत्पादनप्रति आकर्षित हुन थालेका हुन् ।
सिस्नो पाउडरको मुल्य बजारमा गुणस्तरको आधारमा प्रती किलो पाँच सय देखि दुई हजार रुपैयाँसम्म रहेको छ ।
जिल्लाकै पहिलोपटक यस्तो कार्यक्रम भएको बताउँदै शान्ति जनआदर्श सेवा केन्द्रका सचिव राजेन्द्र प्रसाद अधिकारीले यस्ता तालिमले स्थानीयमा उत्साह जागेको बताउनुभयो । कार्यक्रम स्किल नेपालका फिल्ड निरीक्षक डम्बर थापामगरले तालिमको सहजिकरण गरिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस