सहकारी संस्थाहरुले विद्युतीय माध्यमबाट साधारणसभा गर्न पाउने भएका छन् । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि संघीय सहकारी विभागले सूचना जारी गर्दै प्रविधिको प्रयोग गरी साधारणसभा गर्न सक्ने व्यवस्था गरेको हो ।
सहकारी ऐन–२०७४ मा सहकारी संघ/संस्थाले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरीक्षण र ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ । यस्तै, साधारणसभाका लागि संस्थामा कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत उपस्थितिमा अनिवार्य गरिएको छ ।
कोभिड–१९ को महामारी बढ्दै गएपछि विभागले वैकल्पिक व्यवस्थाबाट साधारणसभा गर्न पाउने बाटो खुल्ला गरेको हो । विद्युतीय प्रविधिको प्रयोग गरेर वा १५ दिनको समय दिएर साधारणसभा गर्न सकिने व्यवस्था गरेको हो । संस्थाहरुले तोकिएकै समयभित्र लेखापरीक्षण गरी साधारणसभाभन्दा १५ दिनअघि प्रतिवेदन सदस्यलाई पु¥याउनुपर्नेछ । प्रतिवेदन प्राप्त भएपछि सदस्यहरुको सुझाव, सल्लाह र संशोधन प्रस्ताव साधारणसभाको एजेन्डामा समावेश गर्नुपर्नेछ ।
त्यसपछि संस्थाहरुले विद्युतीय प्रविधिको प्रयोग गरी साधारणसभा गर्न सक्नेछन् । साधारणसभाको सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने र त्यसको सम्पूर्ण रेकर्डिङ नियमनकारी निकायमा साधारणसभा सकिएको १५ दिनभित्र पेश गर्नु पर्नेछ ।
विद्युतीय प्रविधिको प्रयोग गरी साधारणसभा गर्न नसक्ने संस्थाहरुले भने १५ दिनको समयसीमा दिएर उपस्थिति पुस्तिका राखेर साधारणसभा गर्न सक्नेछन् ।
यसैगरी ऐनको व्यवस्था अनुसार एकाइगत रुपमा साधारणसभा गर्ने संस्थाहरुले पनि भर्चुअल वा १५ दिनको समय दिएर भौतिक उपस्थितिमा साधारणसभा गर्न सक्ने प्रावधान राखिएको छ ।
कोरोनाका कारण भौतिक रुपमा सबै सदस्यलाई एकै दिन भौतिक रुपमा उपस्थिति गराई साधारणसभा गर्न असम्भव भएपछि वैकल्पिक व्यवस्था गरिएको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए ।
सहकारी ऐनको व्यवस्था अनुसार साधारणसभा गर्न अप्ठ्यारो हुने भएपछि सहकारी महासंघले वैकल्पिक व्यवस्था गर्नका लागि विभागलाई सुझाव दिएको थियो । गत मंगलबार विभागमा साधारणसभा गर्ने विधिबारे सहकारी महासंघ÷संघका पदाधिकारीहरुसँग समेत छलफल भएको थियो ।
सरकारले सर्वसाधारणलाई भेला हुन र सभा सम्मेलन गर्न रोक लगाएको अवस्थासम्म यो निर्देशन लागू हुने र अवस्था सामान्य भएपछि ऐनको व्यवस्था अनुसार नै हुने विभागको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस