सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।
सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी तनावमा परेकी थिइन् ।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् । मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।
किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस