२०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024

उपचारबाट कोही बञ्चित हुनु नपर्ने गरी व्यवस्थापन गरेका छौ : डा. नरेन्द्रकुमार झा, प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, धुलिखेल काभ्रे

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • १९५३ पाठक संख्या
  • काभ्रे जिल्लामा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
    – अहिलेको अवस्थाको कुरा गर्ने हो भने संक्रमित ३३४ जना छन् । जसमध्ये १५९ जना डिस्चार्ज भइसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । यसैगरी १७३ जना विभिन्न अस्पताल र होम आइसोलेसनमा उपचार गराइरहेका छन् ।

    संक्रमितको उपचार कसरी भइरहेको छ ? आइसोलेसन, क्वारेन्टाइनको प्रबन्ध कसरी मिलाउनुभएको छ ?
    – जिल्लामा शुरुमा १३ वटै पालिकामा हामीले अनिवार्य रुपमा ५० बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेका थियौ र प्रत्येक पालिकाले त्यो शुरुवात पनि गर्यो । साथै अतिनै दुर्गमका गाउँपालिकाहरुले पनि क्वारेन्टाइन बनाए, तर वर्षा शुरु भए पनि चौरीदेउराली, खानी खोला र महाभारतका नागरिकलाई जिल्लामै भएको क्वारेन्टाइनमा व्यवस्थापन गर्यौ । अरु ठाउँमा सबै पालिकाले आफ्ना नागरिकलाई त्यही राख्ने कोशिस गरे र पछि जब केसहरु बढ्दै गयो र लकडाउन खुलेपछि हाम्रो जिल्लामा पनि त्यसको प्रभाव पर्यो । त्यसपछि हामीले धुलिखेल अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, शिर मेमोरियल अस्पताल र खोपासी बीएससीमा र पछि बनेपा नगरपालिकाले बनेपाको चाइना टाउन पोलटेक्निकमा ५० बेडको आइसोलेसन गरेर जम्मा अहिले २०९ बेडको आइसोलेसन छ ।

    संक्रमित बढेपछि हामीलाई रिपोर्टिङ भएपछि हामीले कुनै न कुनै आइसोलेसनमा व्यवस्थापन गराउँछौ । यदि नागरिकले हाम्रो घरमै सुविधा छ र त्यो केस सामान्य छ भने हामीले उहाँहरुलाई घरमै बस्न अनुमति दिन्छौ । तर, सम्बन्धित पालिकाका सम्बन्धित वडा अध्यक्षको सहमति हुन्छ र स्वास्थ्यकर्मीले फोनबाट निगरानी गरिराखेका हुन्छन् । हामीले हाम्रो जिल्लामा अहिलेसम्म यसरी व्यवस्थापन गरेका छौ ।

    आइसीयु र भेन्टिलेटरको अवस्था कस्तो छ नि ?
    – धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था छ । र धुलिखेल अस्पतालको भेन्टिलेटरमा काभ्रेभन्दा बाहिरी जिल्लाका नागरिकहरु उपचाररत हुनुहुन्छ ।

    कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको भनिन्छ ? के साँच्चै समुदायमा फैलिसकेको अवस्था हो ?
    – समुदाय स्तरमा फैलिएको परिभाषा यसको कस्तो हुन्छ भने– समुदायमा कुनै केस देखापर्यो र त्यो केसको स्रोत पत्ता लागेन भने त्यो समुदाय स्तरमा फैलिएको भनिन्छ । हाम्रो जिल्लामा शुरुमा संघीय प्रहरी कार्यालयमा संक्रमण देखापर्यो । त्यसपछि धुलिखेल अस्पतालमा संक्रमित देखापर्यो । स्पाइनल इन्जुरीमा बिरामी, कुरुवा, चिकित्सक, नर्स, सुरक्षा गार्डलगायत क्यान्टिनमा समेत संक्रमित देखापर्यो । तर, दुई–तीन वटा पालिकामा केसहरु देखापर्यो जहाँ हामीले स्रोत पत्ता लगाउन सकेका छैनौ अहिलेसम्म पनि । त्यसले गर्दा एक दुईवटा पालिकामा संक्रमण समुदाय स्तरमा गएको हो कि जस्तो हामीलाई लागेको छ ।

    –तर, विज्ञहरुले त संक्रमण समुदायस्तरमै फैलिसकेको भनिसकेका छन नि ?
    – जुन केसको स्रोत पत्ता लाग्दैन यसको अर्थ यो समुदायबाटै आएको हो । हाम्रो समुदायमा त्यस्तो केस देखापरेको हुनाले हामीलाई पनि शंका छ यो समुदायस्तरमै गइसकेको हो कि भन्ने ।

    कोरोना रोकथाम नियन्त्रणका लागि प्रभावकारी उपायहरु के के हुनसक्छन ? तपाईको सुझाव सल्लाह के छ ?
    – यसको सबैभन्दा मुख्य कुरा के छ भने–यो ट्रान्समिसनको चेन्ज जुन छ त्यसलाई ब्रेक गर्न भन्छु । र यसको लागि अनुशासित नागरिक हुनुपर्छ । लकडाउनलगायत कुनै कुरा गर्नुभन्दा पनि १५ दिन निरन्तर नागरिकले सामाजिक दूरी कायम गर्ने । हामीले आफ्नो घरमा बस्दा पनि दुई मिटरको दूरी कायम गरेर बस्ने र अहिले पछिल्लो चरणमा जुन देखियो निषेधाज्ञा लागू भयो अनि मानिसहरु घरमै थुनिए । तर, भयो के एउटा मानिस संक्रमित छ भने त्यसले घरभरी सबैलाई सार्यो । हाम्रो बानी के छ भने बाहिर जाँदा मास्क लगाउने । मास्क बाहिर जाँदा मात्र होइन घर भित्र पनि मास्क लगाएर बस्नुपर्यो । हामी एक्लैमा बस्दा मास्क लगाउँदै ग्रुपमा बस्दा मास्क खोलेर कुरा गर्छौ । त्यसले गर्दा ट्रान्समिसनको चेन्ज ब्रेक गर्नको लागि सबैभन्दा ठूलो कुरा के छ भने भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य लगाउनैपर्ने । यसो गर्दा संक्रमण नियन्त्रण गर्न सकिन्छ नभए यो असम्भव छ ।

    कोरोनाले विश्व स्वास्थ्य प्रणालीको कुरूप पक्षको पर्दाफास गरेको छ । कोरोना महामारीपछिको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ ? नेपालजस्ता विकासशील देशहरूका स्वास्थ्य प्रणालीमा के–कस्ता सुधार ल्याउनुपर्ला ?
    – हामी गरिब मुलुक । हाम्रो लागि कोरोना महामारी एउटा छदै छ ,कोरोनाका कारण छायामा परेको अरु रोगहरु डेंगु, मलेरियालगायत अन्य रोगहरु अहिले कहिबाट पनि रिपोर्ट भइरहेको छैन । त्यसो त अहिले अन्य रोगबाट पनि मृत्यु हुँदा हामीले कोरोनासँग जोडेर कुरा गर्छौ । मानिसहरु मुटु रोगी, सुगर रोगी उच्च रक्तचापका छन्, यसले गर्दा यो कोरोनासँगसँगै नेपाल सरकारले सञ्चालित गरेको कार्यक्रम थियो । त्यो सबैलाई निरन्तरता दिनुपर्छ । किनकि अहिले सारा विश्वसहित हामी नेपाली पनि एउटा कोरोनामा मात्र केन्द्रित भयौ । त्यसले गर्दा अहिले एउटा महिलाले सुरक्षित सुत्केरी हुने अवस्था छैन, खोप सेवा प्रभावित भएको छ, क्षयरोगीहरुले समयमा औषधि पाउन सक्या छैनन्, एचआइभी रोगीले समयमा औषधि पायो÷पाएन त्यता तिर पनि ध्यान दिन जरुरी छ ।

    विश्व स्वास्थ्य संगठन र सरकारले एउटा रणनीति बनाउनुपर्छ । कोरोना महामारीसँग त हामी लड्ने नै हो, तर यो रोगसँगसँगै अरु रोगहरु छायामा नपरोस्, अरु रोगहरुको पनि समयमै त्यसको निराकरण र सम्बोधन हुनुपर्छ ।

    तर, सामान्य रुघाखोकी वा ज्वरो आउँदा पनि अस्पतालले कोरोनाको शंका गरेर भर्ना नलिएको देख्दै र सुन्दै आएका छौ । के यो अवस्थामा अन्य रोगको बिरामीले उपचार पाउँछन् त ?
    – कोरोना रुपी जुन हुल्ला छ । यसलाई म हल्ला नै भन्छु । किनभने कोरोनाको यो भय र त्रास देखाएर नागरिकमा जुन प्रकारको वातावरण सिर्जना भएको यसलाई विस्तारै हामीले चिर्नुपर्छ । ठीक छ यो संक्रमण रोग हो, यसबाट हामी जोगिनुपर्छ । तर, कोरोनालाई मात्र हाइलाइट गरेर अरु जुन छाँयामा छ त्यसलाई विस्तारै हामीले चिर्दै लाने हो । र जहाँसम्म अस्पतालको कुरा गर्नु भयो त्यो देखिएकै छ विभिन्न ठाउँहरुमा । तर, काभ्रे जिल्लाको हकमा यस्तो अवस्था छैन । यहाँ ठूला अस्पताल दुईवटा छन् । हामी एउटा निर्णय गरेका छौ । कुनै पनि अस्पतालबाट बिरामी रिफर गर्दा पनि नेपाल सरकारको निर्णयलाई अनुसरण गरेका छौ । कुनै पनि नागरिकले अस्पतालमा सेवा लिनबाट वञ्चित नहोस् भनेर हाम्रो टिम एकदम तदरुकताका साथ लागिरहेको छ । नागरिकलाई त्यस्तो अप्ठ्यारो पर्यो भने हामीले बेला–बेलामा सम्बोधन गरिरहेका छौ । अस्पतालहरुमा पनि कार्यरत जनशक्तिलाई हामी अनुरोध गरेका छौ र हाम्रो जिल्लामा यो समस्या चाहि छैन । यदि उपचारका लागि कोही व्यक्ति आउनुहुन्छ भने उहाँहरुको पीसीआर परीक्षण पनि हामी गर्छौ । र यदि उहाँहरुमा कोरोना संक्रमण छ भने हामी उपचारमा पनि सक्रिय हुन्छौ ।

    आमनागरिकलाई अहिले कोरोनाभन्दा पनि अन्य रोगको उपचार नपाएर र भोकले बढी सताएको अवस्था छ ? यस्तै अवस्था कहिलेसम्म रहने हो ?
    – आशा गरौ यो विस्तारै निको हुँदै जान्छ । नेपाल सरकार, स्थानीय सरकार, प्रदेश सरकारबाट सञ्चालित कार्यक्रमहरुमा थोरै असर देखिएको थियो । तर, विस्तारै–विस्तारै त्यो हराउँदै गइरहेको छ । सरकारी प्रणालीबाट दिइने सेवाहरु छ, निजी तथा गैरसरकारी संस्थाहरुबाट दिने सेवाहरु । विस्तारै यो कोरोनाको त्रास पनि जान्छ । किनभने अब लकडाउन पनि विस्तारै खुकुलो हुँदै जान्छ । यसका लागि सामाजिक दूरी, भौतिक दूरी कायम गरेर सबै सेवा प्रवाह गर्नुपर्छ । त्यो भएपछि आम नागरिकले दुःख पाउँदैनन् कि जस्तो लाग्छ ।

    कोरानाविरुद्ध फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेको छ यसलाई कसरी लिनुहुन्छ ?
    – यो मानविय सम्वेदनाको कुरा हो । यसमा हरेक तप्का र तवरबाट सोच्नुपर्ने कुरा हो । स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको बाजी लगाएर स्वास्थ्य सेवा प्रवाह गरिरहनुभएको छ । र ठाउँ–ठाउँमा यस्ता घटनाहरु सुनिएको छ, देखिएको छ । यसलाई हरेक नागरिकले यो सोचिदिनुपर्यो कि उहाँहरु हाम्रै सेवाका लागि हो । फ्रन्टलाईनमा काम गरिरहनुभएको छ । आखिर ती स्वास्थ्यकर्मीका शरीर पनि त्यही हाड, छाला र मासुद्वारा बनेको हो । तर पनि डर, त्रास सबै छोडेर आफ्नो घर परिवारको माया त्यागेर काम गरिरहनुभएको छ । सेवा दिइरहनुभएको छ । उहाँहरुलाई अरु केही होइन मायाको खाँचो छ । उहाँहरुलाई सम्मानको खाँचो छ । त्यो सम्मान उहाँलाई दिनुपर्छ र त्यो सम्मान पाउने अधिकार हो । यदि कसैले त्यस्तो दुर्व्यवहार गर्छन् भने सरकारको कानुनअनुसार त्यस्ता व्यक्तिलाई दण्डित गर्नुपर्छ । जहाँसम्म हाम्रो जिल्लाको कुरा हो, हाम्रो जिल्लामा यस्तो घटनाहरु भएका छैनन् । कोरोना त एक–दुई हप्तामा निको भएर जान्छ । तर, यो बेला दिएको पीडा बाँचुन्जेलसम्म रहिरहन्छ । यस्तो बेला हामी सबै एकजुट भएर एक अर्काको सम्मान गर्नुपर्छ ।

    द नेपालटपबाट साभार

    प्रतिक्रिया दिनुहोस