नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (आइतबार) सकिँदै छ ।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त हुनुभएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैहुनुहुन्छ । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख को बन्छ भन्ने चासो बढेको छ।
प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने चर्चा सुरु भएको तीन साता बितिसकेको छ । अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ। घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याउने गरी मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको प्राधिकरण उच्च स्रोतले बताएको छ। यद्यपि यस पटक उहाँलाई चार बर्षको नभै दुई वर्षका लागि मात्र जिम्मेवारी दिने तयारी भएको चर्चासमेत चलेको छ ।
नेकपाभित्र पनि माओवादी खेमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा उभिएको तर एमाले खेमा घिसिङको विकल्प खोज्नुपर्नेमा रहेको भए पनि घिसिङको पक्षमा नै सहमति भएको बुझिएको छ । यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने गरी मन्त्रालयले प्रस्ताव लैजाने सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ । तर, ऊर्जा सचिव दिनेश घिमिरेले भने प्राधिकरणको कार्यकारी निर्देशकको प्रस्तावको सम्बन्धमा अहिलेसम्म मन्त्रालयले कुनै तयारी नगरेको बताउँदै आउनुभएको छ । घिसिङको समयावधि सकिन लाग्दा अहिलेसम्म कसैले पनि उम्मेदारी दाबी गरेको देखिँदैन। हल्लाबाहेक खुलेर कोही पनि आफ्नो दाबी लिएर नआएका कारण पनि घिसिङको निरन्तरतातर्फ नै संकेत गएको स्रोतको भनाइ छ।
यदि कुलमानको नियुक्ती नभए प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक हरराज न्यौपाने बहालवाला कर्मचारीबाट बलियो दाबेदार हुनुहुन्छ । प्राधिकरणका पूर्व कर्मचारी शान्तिलक्ष्मी शाक्य पनि कार्यकारी निर्देशकको दौडमा रहेको हल्ला छ। प्रसारणलाइन विज्ञ हितेन्द्र शाक्य, तत्कालीन विद्युतिय महसुल निर्धारण आयोगका अध्यक्ष डा। जगतकुमार भुसालको नाममा पनि दाबेदारी नसुनिएको होइन।
पछिल्लो समय प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्ले कुलमानको विरुरुद्धमा देखिएकाले उहाँपनि त्यसका दाबेदार हुन् भन्ने बजारमा हल्ला छ।
०७२ भदौ २९ गते घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त हुँदा मुलुक दैनिक १८ घण्टासम्मको लोडसेडिङमा थियो। पदबहाली गरेको करिब दुई वर्षमा लोडसेडिङ हटेदेखि उज्यालो नेपालको संवाहक भन्दै सबै जस कुलमानको पोल्टामा गएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस