२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

२८ किलो घटना : प्रहरीद्धारा अपहरणकारी सार्वजनिक (घटना विबरण सहित)

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २४७६ पाठक संख्या
  • जिल्ला प्रहरी कार्यालय काभ्रेले अपहरण तथा शरिर बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाँचखाल न.पा. वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल न.पा. वडा नं. ४ स्ने वर्ष १९ को आकाश परियार, तेमाल गाउँपालिका वडा नं. ०७ माईती घर, का.प.जि. पाँचखाल न.पा. वडा नं. १२ तिनघरे घर भई हाल . धुलिखेल न.पा. वडा नं. ४ बस्ने २१ की सविना तामाङ्ग परियार, रोशी गाउँपालिका वडा नं. १२ भिमखोरी माईती घर, बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल न.पा. वडा नं. ४ बस्ने वर्ष २१ की उमा परियार छन् । पक्राउ परेका आकाश र सविना श्रीमान श्रीमती हुन् । घटनामा संलग्न १ जना भने फरार छन् ।

    अपहरणकारी लुकेर बसेको घर

    अपहरणकारीहरुले गत भदौ २४ गते पँँचखाल न.पा. वडा नं. १२ देवभुमी घर हुने वर्ष २३ को राजकुमार दनुवारलाई धुलिखेल न.पा. वडा नं. ४ मा अपहरण गरेर ५० हजार फिरौती माग गरेका थिए । भदौ २४ गतेनै सूचनाको आधारमा इलाका प्रहरी कार्यालयका प्रमुख योगेन्द्र तिमल्सिना र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश खत्रीको कमाण्डमा प्रहरी परिचालन भएर राती ११ः३० बजे बनेपा नपा. वडा नं. १० बुडोल स्थितबाट पिडित राजकुमार दनुवारलाई सकुशल उद्दार गरेपनि अपहरणकारीहरुलाई भने प्रहरीले भेट्न सकेन ।

    घटनामा संलग्न उमालाई पक्राउ गरेर लैजादै प्रहरी ।

    भाद्र २५ गते घट्नामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्दै जाने क्रममा धुलिखेल न.पा. वडा नं. ०४ स्थित भगवती पेट्रोल पम्प पछाडी छन् भन्ने सूचनाका आधारमा प्रहरी पुगदा प्रहरी माथी नै आक्रमण गरी भागेका थिए । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा मुद्धा चलाउने जिल्ला प्रहरी प्रमुख एस्पी रविराज पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    श्रीमतीलाई सम्बन्ध जोड्न लगाएर पैसा असुलेको आरोप

    अपहरणमा संलग्न आकास र सविना श्रीमान श्रीमती भएपनि अन्य केटालाई फसाएर प्रयोग गर्ने घटनाको अनुसन्धानले देखाएको छ । भाद्र २४ गते पनि सविनाले उनको श्रीमानको योजनामा राजकुमार दनुवारलाई ट्रयापमा पारेर घुम्न बोलाएका थिए । सविनाले राजकुमारलाई मिठो गफ गरी घुम्न जाऔं भनी जंगलमा लगेको देखिन्छ । श्रीमान सँगको योजना अनुसारै जंगलमा पुगेपछि श्रीमान दुईजना भएको ठाउँमा पुग्ने अनि पैसाको बार्गेनिङ गर्ने गरेको देखिन्छ । यस अघि पनि उनीहरुले अपरिचित केटालाई ट्रयापमा पार्ने योजना अनुसारै घुम्न लैजाने अनि पैसा असुल्ने कार्य गर्दै आएका थिए । प्रहरीको अनुसन्धानमा पनि सबिना तामाङ्गले पिडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न ,सबिना तामाङ्ग र उमा परियारले पिडितलाई धुलिखेल न.पा. ४ मा भेटी जंगल तर्फ लिई गएको, जंगलको एकान्त स्थानमापुगी संगै कुराकानी गरी बसीरहेको अवस्थामा सबिनाको श्रीमान् आकाश परियार लगायत अन्य व्यक्तिहरु पुगी ५० हजार पैसा मागेको अनुसन्धानमा खुलेको छ ।

    गोली कसरी चल्यो ?
    भदौ  २४ गते  राजकुमार दनुवारलाई अपहरण भएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा सुचना पुगेपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थल खोज्न खटिएको थियो । प्रहरी खटिएको थाहा पाएपछि अपहरणमा संलग्नहरुले राजकुमारलाई त्यही छाडी फरार भएका थिए । भदौ २५ गते पनि जिल्ला प्रहरी कार्यालयबाट घुमुवा टोली ती अपहरणकारी खोज्दै हिड्यो । घुमुवाको टोली उनीहरुलाई खोज्दै भकुण्डेसम्म पुगेको थियो । फोन ट्रेसिङको आधारमा तीनिहरुलाई २८ किलोमा देखाएपछि घुमुवाको टोली २८ किलो आएको थियो । घुमुवाको टोलीलाई स्थानीय एक बालकले तीनिहरु बस्ने डेरा बताएका थिए । डेरा पत्ता लागेपछि घुमुवा टोली अपहरणकारीको पर्खाइमा बसेका थिए । बेलुका ७ बजे ती अपहरणकारी डेरामा आईपुगेको भन्ने थाहा पाएपछि २ जना घुमुवा टोली उनीहरुको डेरामा पुगेका थिए । (घुमुवा टोलीमा प्रहरी अधिकृत समेत सहभागी भएको भन्ने छ ) डेरामा पुगेर ढोका ढक ढक गर्ने वित्तिकै ती अपहरणकारीले भित्रबाट खुकुरी बोकेर ती घुमुवा टोलीमाथी आक्रमण गरेको थियो । खुकुरी सहित आक्रमण गरेपछि दुई जना मात्र घुमुवा टोली त्यहाँबाट भाग्न खोज्यो । अपहरणकारीले त्यसैबेला सुन चोरेर भागेको भन्दै हल्ला गर्न थाले । सुन चोर सुन चोर भन्दै तीनिहरुले हल्ला गरेपछि स्थानीय सबैजना जम्मा भएर ती घुमुवा टोलीलाई आक्रमण गर्न थाले । आक्रमणबाट जोगिन घुमुवा टोलीले १ राउण्ड फायर गरेर त्यहाँबाट भागेका थिए । अपहरणकारी पक्राउ गर्न गएको टोली आफै बचेर त्यहाँबाट निस्किएको थियो । प्रहरीमाथी नै आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयले थप एक्सन लियो । ४ जना अपहरणकारी मध्ये २ जना आकाश र सविना राती नै समातिए भने अर्को एक जना उमा शुक्रवार विहान पक्राउ परिन ।

    यो घटनाले प्रहरी माथी पनि प्रश्न उठेको छ । अपहरणकारी भन्ने थाहाँ भएपछि किन २ जना घुमुवा टोली मात्रै तीनिहरुभएको ठाउँमा पुग्यो ? किन थप फोर्स लान जरुरी ठानेन ? अघिल्लो दिन दुई जना अधिकृत सहितको टोली खटिएको भएपनि त्यस दिन किन घुमुवा मात्र सहभागी भयो यसको जवाफ जिल्ला प्रहरी सँग स्थानीयले मागेका छन् ।

    प्रतिक्रिया दिनुहोस