काभ्रेमा शुक्रवारबाट लकडाउन खुकुलो भएको छ । यस अघि बन्द भएका धेरै व्यक्तिहरुको भिडभाड हुने मालपोत, आन्तरिक राजश्व, नापी, जिल्ला प्रशासनमा पालिका अनुसार दिन तोकेर तथा अन्य सबै सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु र पसल शुक्रवार खुल्ने भएको हो ।
जिल्ला स्तरीय कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले विहिबार बैठक बसी सेवाग्राहीहरुको बढी भिडभाड हुने कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र आन्तरिक राजस्व कार्यालय काभ्रेबाट सेवाग्राहीहरुलाई एकै पटक सेवा प्रवाह गर्न कठनिाई भएकोले दैनिक रुपमा प्रवाह हुने सेवा प्रवाहलाई २६ गते शुक्रबारबाट नगरपालिकाका लागि हप्तामा ३ दिनमात्र सेवा प्रवाह गर्नेछ भने गाउँपालिकाका लागि हरेक दिन सेवा प्रवाह हुने प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलले बताउनुभयो ।
निर्णय भए अनुसार धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका र पनौती नगरपालिकाका लागि आइतबार, मंगलबार र विहिबार मात्र सेवा प्रवाह हुने छ र बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार र शुक्रबार मात्र सेवा प्रवाह हुने छ । गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा उपलब्ध गराउने निर्णय भएको छ ।
बैंक तथा वित्तिय संस्थाहरु न्यूनतम जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएको छ । त्यसैगरि खाद्य सामाग्री, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी तथा औषधी पसलहरु सामाजिक दूरी कायम गरी, अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग, साबुनपानीले हात धुने व्यवस्था मिलाई सञ्चालन गर्ने गरी निर्णय भएको छ । त्यस्तै निर्माण सामाग्रीहरु, लत्ताकपडा र अन्य सामाग्रीका पसलहरु न्यूनतम जनस्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी विहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने समेत निर्णय भएको छ । बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा भने कुनै निर्णय भएको छैन । तर व्यवसायीले भने असोज १ गते बाट सार्वजनिक यातायात चलाउने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस