बाग्लुङको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ जना बेपत्ता छन् ।
हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ । बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए । फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको शवसमेत जलाउन पाएनन् । नचिनिने भएको कारण एउटाको शव प्रहरीले अर्कै परिवारलाई बुझायो, अर्कै परिवारले शव जलाइदिए ।
ढोरपाटनको बाढीमा बेपत्ता भएका आफ्नो २२ वर्षीय छोरा नारायण विकको शव घट्टबोटका बेपत्ता ३१ वर्षीय प्रेम पुनको शव भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो । आफन्तले पनि नारायणको शव प्रेमको ठानेर १९ गते फेला परेर सोही दिन बुर्तिवाङघाटमा जलाइयो । प्रेमका आफन्तले अर्कैको शव जलाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो शव फेला पारेपछि २० गते फेरि पुनको शव बुर्तिवाङघाटमै जलाइयो तर नारायणका परिवारले आफ्नो छोराको शव भेटिँदासमेत दाहसंस्कार गर्न पाएनन् ।
भदौ १९ गते जलाइसकेको शव आफ्नो छोरा भएको २० गते प्रेमकोे परिवारले दोस्रो दाहसंस्कार गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताए । ‘प्रहरीले मलाई थाहै नदिई मेरो छोराको शव अर्कैको भनेर बुझाइसकेर दाहसंस्कार भइसकेको रहेछ’, तुलबहादुरले भने, मेरो छोरालाई प्रेम पुनको शव भनेर जलाएको भोलिपल्ट उनको शव फेला पारेको रहेछ, मैले २० गते मात्रै १९ गते प्रेम पुन भनेर जलाएको शव मेरो छोरा नारायणको भएको पत्ता लगाएँ, असाध्यै दुःख लाग्यो ।’
तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बेपत्ता बनाएको छ । तीन जनाको अवस्था अझै अज्ञात रहँदा भेटिएको शवसमेत देख्न नपाई जलाइएकामा उनको दुखेसो छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको शव क्षतविक्षत भएकाले पहिचानमा समस्या भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस