नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागलगायत गरेको मनोनयन खारेज गर्न असन्तुष्ट पक्षका नेताहरूले माग गरेका छन्।
सभापति देउवाले १४ औं महाधिवेशनको मुखमा विभागदेखि शुभेच्छुक संस्थासम्म एकलौटी मनोनयन जारी राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले विरोध गर्दै खारेजीका लागि दबाब दिन लागेका हुन्।
देउवाले २० भन्दा बढी विभागमा एक हजार भन्दा धेरैलाई मनोनित गरिसकेका छन्।
शनिबार देउवाइतरका केन्द्रीय सदस्यको बैठकले विधान विपरीत सभापतिले मनोनयनलगायत काम गरिरहेकोले खारेज गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।
विधानमा महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने उल्लेख छ। तर देउवाले चार वर्षे नियमित कार्यकाल सकेपछि धमाधम विभाग र शुभेच्छुक संस्थामा मनोनयन जारी राखेका छन्।
शनिबार करिब तीन घण्टा चलेको भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गगन थापा, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, धनराज गुरूङलगायत सहभागी थिए।
विभागलगायतमा सभापतिले गरेका मनोनयन खारेजीका लागि अनशनदेखि घेराउसम्मका दवावमुलक कार्यक्रम गरेर जाने भन्ने बैठकको निचोड छ।
प्रतिक्रिया दिनुहोस