२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मेथिनकोट अस्पताल अब प्रादेशिक अस्पताल बन्दै

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • १०८९ पाठक संख्या
  • काभ्रे/ काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पताल अब प्रादेशिक अस्पताल बन्ने भएको छ ।
    बागमती प्रदेशले नमोबुद्ध ४ मा रहेको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको हो । मेथिनकोट अस्पताल सहित प्रदेशका पाँच अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले गरेको हो ।
    बैठकले मेथिनकोटसहित दोलखाको चरीकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाडौं टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
    हाल बागमती प्रदेशको १३ जिल्लामध्ये आठ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पतालहरु सञ्चालनमा रहेका छन्।
    मेथिनकोट अस्पताल हाल नमोबुद्ध नगरपालिका अन्तर्गत सन्चालनमा रहेको छ । अब यो अस्पताल प्रादेशिक अस्पताल बनेसँगै दाप्चामा नगर अस्पताल स्थापना गर्ने तयारी नगरपालिकाले गरेको छ । हाल मेथिनकोट अस्पताल १५ शैयाको रहेको छ । अब प्रादेशिक अस्पताल बनेपछि अस्पतालको क्षमता बढ्ने छ भने विशेषज्ञ सेवासमेत उपलब्ध हुनेछ । मेथिनकोट अस्पतालबाट अहिले वार्षिक १५ हजार सर्वसाधारणले सेवा पाउँदै आएका छन् । मेथिनकोट अस्पतालमा हाल २६ जनाको जनशक्ति रहेको छ भने जनरल मेडिसिन, ओपिडी, डेन्टल, भिडियो एक्सरे लगायतका सेवा उपलब्ध छ ।
    यो अस्पताल प्रादेशिक अस्पताल बनेसँगै काभ्रेसहित रामेछाप, सिन्धुली लगायतका जिल्लाका सर्वसाधारणलाई सेवा पाउन सहज हुनेछ ।
    प्रदेशभित्रका सबै जिल्लामा प्रदेश अस्पताल स्थापना गरी कोभिड–१९ लगायतका संक्रमण रोग तथा अन्य रोगहरुको सहजतापूर्वक उपचार गर्न आवश्यक देखिएको मन्त्री ढुंगेलले बताएका छन् । प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतीमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो।
    यसैगरी कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा, समानुपातिक सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरु रहने गरी अनुगमन, सहजीकरण र समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस