कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा रोगले मृत्यु हुने भन्दा १० गुणा बढीले आत्महत्या गरेको देखिएको छ। चैत ११ गतेदेखि सुरु भएको लकडाउन यता २ हजार भन्दा बढीले आत्महत्या गरेका छन्। जबकी कोरोना भाइरसको संक्रमणबाट आजसम्म २ सय ७१ जनाको निधन भएको छ।
प्रहरी प्रधान कार्यालयले उपलव्ध गराएको तथ्यांकअनुसार चैत ११ देखि साउन ४ गतेसम्म देशभर दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै रहेको छ। जसअनुसार एक हजार १ सय ७२ पुरुष, आठ सय ११ महिला, ९४ बालक र १४१ जना बालिका रहेका छन्। आत्महत्या गर्ने ७० प्रतिशत मानिसले झुण्डिएर आत्महत्या गरेका छन्। त्यो बाहेकले विष सेवन गरेर, आगो लगाएर, हातहतियार प्रयोग गरेर, डुबेर आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ।
आत्महत्याका घटना सबैभन्दा बढी प्रदेश ५ मा भएको देखिएको छ। पाँच महिनाको अवधिमा प्रदेश ५ मा ४ सय २९ जनाले आत्महत्या गरेका छन्। प्रहरी तथ्यांकअनुसार प्रदेश नम्बर १ मा तीन सय ७१, प्रदेश नम्बर २ मा तीन सय पाँच, बागमती प्रदेशमा तीन सय ८५ जनाले आत्महत्या गरेको छन्। त्यस्तै गण्डकी प्रदेशमा दुई सय ४६, कर्णाली प्रदेशमा एक सय १९, सुदूरपश्चिममा दुई सय चार जनाले आत्महत्या गरेको छन्। यस अवधिमा काठमाडौं उपत्यकामा मात्रै एक सय ५९ जनाले आत्महत्या गरेका छन्। लकडाउन भन्दा पहिला वार्षिक रुपमा चार देखि ५ हजार जनाले आत्महत्या गर्ने गरेका थिए।
प्रतिक्रिया दिनुहोस