बागलुङ — बागलुङको ढोरपाटन नगरपालिका–९ र आसपास क्षेत्रमा बुधबार राति आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अझै १३ जना बेपत्ता छन् ।
राति १२ बजेतिर देउराली र सुपुरदुङ क्षेत्रमा खसेको पहिरोमा यहाँका १५ वटाभन्दा बढी घर पुरिएका छन् । बाढीले कटान गरेपछि सडकसमेत क्षतविक्षत भएको छ ।
बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेपछि स्थानीयसहित उद्धार सुरु गरिएको हो । अहिलेसम्म चार जनाको शव भेटिएको र सनाखत भइनसकेको भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशिला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी छन् ।
प्रतिक्रिया दिनुहोस