टिनको छानो मुनिबाट मेशिन चलेको क्याररर आवाजले ध्यान खिचिने । काठै काठले भरिएको फर्निचर उद्योग भित्र झ्यालको खापा बनाउन काठ चिर्दै हुनुहुन्थ्यो ३१ वर्षीय जयकृष्ण तामाङ ।
तामाङलाई नेपालमा केही वर्ष अघिसम्म केही गर्न सकिदैँन जस्तो लागेको थियो । यही सोचका कारण उहाँलाई विदेश जाने मोह पनि जागेको थियो । उहाँले तत्कालै पासपोर्ट बनाउनुभयो अनि साउदी अरेवियाको लागि भिसा पनि लाग्यो ।
त्यहाँ सहजै पैसा फल्ने कहाँ हो र ? हण्डर, ठक्कर र कठोर परिश्रम दैनिकी थियो । ३ वर्ष बिदेशमा बस्नुभयो । कहिले घर फर्किउँ झै भइ नै रह्यो बारम्मबार । यत्तिकै मेहेनत आफ्नै भूमिका गर्न सके खुशी खोज्न भौतारिनु पर्दैन भन्ने कुराले उहाँलाई घचघच्याइ रह्यो । विदेशमा पाएका दुःखका कारण विदेशमा नै हँुदाखेरी नेपाल फर्किएर जानेकै पेशा गर्ने उहाँले सोच बनाउनुभएको थियो ।
धुलिखेल नगरपालिका वडा नं ३ नयाँगाउँ बस्ने तामाङको बुवा, हजुरबुबा सबै जना फर्निचरको काम गर्नुहुन्थ्यो । पुख्र्यौली पेशा भएका कारण पनि उहाँलाई काठको कामले आकर्षित गर्यो । शुरूवातमा उहाँले फर्निचर उद्योगमा बुबालाई सहयोग गरेर काम सुरू गर्नुभयो । काम जानिंदै गयो, सीप थपिँदै गयो । पढेर भन्दा परेर जान्ने उहाँको अनुभव छ ।
आफ्नो ठाउँमा श्रम गर्न मानिस लजाउने बानी नै उसको कमजोरी मान्नुहुन्छ उहाँ । ‘गाउँमा हलो जोत्न गारो मान्छ काठमाडौँमा भाँडा माझ्न सजिलो मान्छ’ उनले भने, ‘अनि त्यही मान्छे विदेश गयो भने शैचालय सफा गर्न सजिलो मान्छन् । अनि कसरी आउँछ परिवर्तन ?’ यदी सीप बिकाउन सक्ने हो भने नेपालमा विदेशमा भएको परिवर्तन भन्दा पनि छिटो परिवर्तन आउँने उहाँको भनाई छ । पसिना र मेहेनतले कर्मभूमि सिंचाइ गर्नसके आत्मसम्मान र स्वरोजगारीका लागि कसैसँग सम्झौता गर्नु नपर्ने उहाँको ठहर छ ।
लाखौं खर्चिएर पढेका इञ्जिनयर भन्दा कम छैन उहाँले जानेको सीप । सीपले गर्दा उहाँलाई फेरी दोहोराएर विदेश जानु परेन । परनिर्भरताको बाटोमा सक्षमताको दीप प्रज्वलन गराउन सफल हुनुहुन्छ । ‘३ वर्ष अरूको लागि काम गरियो, अहिले आफ्नो लागि काम गरिरहेको छु’, उहाँले भन्नुभयो, ‘काम गर्ने शैलीमा परिवर्तन गरेपछि उपलब्धी हासिल गर्न सजिलो भएको छ । मलाई अरूले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । आज म बेरोजगार युवाको उपनामबाट उम्कन सफल भएको छु । मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि यही नै रहेको छ । म मेरो व्यवसायप्रति निकै सन्तुष्ट छु ।’
तामाङको यो कामलाई उहाँका घरपरिवारले पनि साथ दिएका छन् ‘फर्निचर उद्योगबाट अहिले मेरो घर परिवार चलेको छ, उहाँले भन्नुभयो, ‘विदेश जाने सोच बनाएका युवाहरूले पनि एक पटक मात्र भए पनि नेपालमा नै केही गर्ने प्रयास गर्न जरूरी छ । युवालाई आफ्नै ठाउँमा रोक्न सकियो भने देशको उन्नती सम्भब छ । यसमा म ढुक्क छु । देखेका र भेटेका सबै युवावर्गलाई सम्झाउने पनि गरेको छु ।’ एक्कासी ठूलो भाग खोजेर त कहाँ पाइन्छ र तर सानो सानो भागबाटै ठूलो भाग आउने हुँदा निरन्तरता नै ठूलो कुरा भएको उहाँ सुनाउनु हुन्छ ।
अहिले उहाँको पसलमा १ लाखसम्मको मेशिनरी सामग्री रहेको छ । अरूको जागिरको भरमा बाच्नु भन्दा आफ्नै व्यवसायमा हुदाँ ढुक्कले काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँले अहिले अर्डर अनुसारको सामग्रीहरू बनाउनुहुन्छ । काम कहिल्यै टुट्दैन । कामको खाँचो भयो भन्ने दिन आएको छैन । सबैले विश्वास पनि गरिरहनुभएको छ । आफ्नो सीपमा अरूलाई विश्वास दिलाउन सकेकोमा उहाँ खुसी पनि हुनुहुन्छ । घरको झ्याल ढोकाको खापा बनाउँदा राम्रो आम्दानी हुने उहाँ बताउनुहुन्छ ।
अहिले कोरोना भाइरस अर्थात कोभिड १९ का कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । यो अवस्थामा अत्यावश्यक भित्र नपर्ने व्यवसायी भने अहिले मारमा परेका छन् । उदाहरणको लागि हामी फर्निचर व्यवसायलाई लिन सक्छौँ । अत्यावश्क क्षेत्र भित्र नपरेका कारण फर्निचर व्यवसायहरू अहिले धरासायी अवस्थामा रहेका छन् । लगानी र जनजिविकासँग जोडिएकाले फर्निचर व्यवसाय प्रभावित भएको छ । २ महिना जति त तामाङको फर्निचर पनि बन्दभयो । तर, अहिले भने पुनः सञ्चालनमा आएको छ । आम्दानी पहिले कै जस्तै हुने चरणमा रहेको छ ।
“हात मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्द मनले ।” महाकवि लक्ष्मिप्रसाद देवकोटालाई यही भनाईलाई सार्थकता मानेर तामाङ फर्निचर व्यवसायमा व्यस्त हुनुहुन्छ । यो भनाईलाई आफुले पनि अनुशरण गर्ने गरेको उहाँ बताउनुहुन्छ । फर्निचर अत्यावश्यक क्षेत्र भित्र नपरेपनि लगानी र जनजिविकासँग जोडिएकाले प्रभावित छ । तर पहिले कै अवस्थामा व्यवसायलाई फर्काउनको लागि सक्दो प्रयास भने भइरहको उहाँ बताउनुहुन्छ । “यो विषम परिस्थिति एक दिन हटेर जाने छ अनी हामी फेरि लयमा फर्किने छौँ ।” लामा बताउनु हुन्छ ।
अहिले काम गर्नको लागि कच्चा सामग्री नभएका कारण भने समस्या भइरहेको छ । काठका सामग्री ल्याउन पाईएको छैन । केही सामग्री चाहियो र लिनको लागि गइयो भने पनि ढुवानी महङ्गो छ । तामाङ भन्नुहुन्छ, ‘फर्निचरको काममा कपडाहरू छिटो मैलो हुने शरिर छिटै फोहोर हुने जस्ता समस्या त आइरहन्छ तर हामीले ती कुरामा वास्ता गरेर बस्यौँ भने हाम्रो प्रगति हँुदैन ।’ प्राथमिकस्तर सम्मको पढाई सम्पन्न गर्नुभएका उहाँले अहिले मासिक ३५ हजारसम्म आम्दानी गर्नुहुन्छ ।
आफ्नो फर्निचर उद्योगमा आफ्नो जीवन देख्नु भएका उहाँले उद्योगकको क्षेत्र विस्तार गर्ने योजना बनाउनुभएको छ । फर्निचरमा भएको आम्दानी फर्निचरमा नै लगानी गर्ने सोच उहाँको छ । आफ्नो दक्षता र क्षमता अनुसारको काममा नलागी ठूला कामको सोच बनाउनु नै मुर्खता हो । तामाङ भन्नुहुन्छ, ‘आफ्नो क्षमता हेरी काम गर्ने भए बेरोजगार भएर कोही बस्नु पर्दैन । त्यसैले क्षमता भन्दा ठूला काम रोज्नु नै मेरो विचारमा मूर्खता हो ।’ १५ वर्षदेखी फर्निचरमा लाग्नुभएका उहाँलाई सुरूवातमा सिकाइको चरणमा भने खासै समस्या भएन । ६ महिनासम्म होटलमासमेत काम गर्नुएका उहाँलाई होटल व्यवसाय खासै मन परेन । त्यसपछि त्यसलाई छाडेर विदेशमा काम गर्नको लागि गएर आएसँगै अहिले फर्निचर व्यवासयमा उहाँ व्यस्त हुनुहुन्छ ।
खाडीमा काम गरेर लाखौँ कमाएको पैसा भन्दा आफ्नै भूमिका आफ्नै सीप र सिर्जनाको कमाइले ज्यादा खुसी दिन्छ भन्ने भनाई धुलिखेल नगरपालिका वडा नं ३ नयाँगाउँ जयकृष्ण तामाङको भोगाइबाट अझ प्रष्टिन्छ । उहाँको जस्तै प्रयास हामी पनि गर्ने हो भने सफलताको दुरी आँखाले नै प्रस्ट नाप्न सकिन्छ ।
प्रस्तुत स्टोरी काभ्रेबाट बुधवार प्रकाशित पलञ्चोक साप्ताहिकबाट लिईएको हो ।
प्रतिक्रिया दिनुहोस