२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संकटमा सौन्दर्य व्यवसाय

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ११७७ पाठक संख्या
  • कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै न्यनिकरणका लागि देश अहिले दोस्रो चरणको लक डाउनमा छ । लक डाउनले ठप्प भएका व्यापार व्यवसाय पहिलो चरणको लक डाउन पश्चात थोरैले सञ्चालनमा ल्याएका थिए । अहिले फेरि दोस्रो चरणको लकडाउनले व्यापार व्यवसाय पुनःठप्प भएका छन् । यसको धेरथोर प्रभाव सबै व्यवसायमा परेको छ । सौन्दर्य व्यवस्यामा व्यक्ति व्यक्ति नजिकिएर काम गर्नुपर्ने भएकाले यो क्षेत्र बढि प्रभावित भएको व्यवसायीहरु बताउँछन् । लकडाउनले सौन्दर्य व्यवसायीमा के–कस्तो प्रभाव परेको छ भन्ने विषयमा काभ्रेका सौन्दर्य व्यवसायीहरुसँग गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

    शोभा नकर्मी, सौन्दर्य व्यवसायी एवं अध्यक्ष, सौन्दर्य कला व्यवसायी संघ नेपाल काभ्रे

    सौन्दर्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रमा असर परेको छ । यहाँ व्यक्ति व्यक्ति नजिकिएर काम गर्नुपर्ने भएकाले यो व्यवसाय जोखिममा छ । लक डाउन खुले पनि पहिलेको स्थितीमा नफर्केसम्म व्यवसाय सहज रुपमा गर्न सकिने अवस्था छैन । लक डाउनले विशेष गरेर साना व्यवसायी मर्कामा परेका छन् । अधिंकाशले ऋण गरेर, घर भाडामा लिएर, व्यवसाय गरिरहनुभएको छ । यसैबाट दैनिकी धान्ने पनि धेरै हुनुहुन्छ । अहिले व्यवसाय ठप्प हुदाँ जीविको पार्जन गर्न समेत धेरैलाई मुस्किल भएको छ ।

     

    लक्ष्मी श्रेष्ठ, सञ्चालक एवं सौन्दर्य व्यवसायी अल ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर

    अहिलेको परिस्थितीमा सामाजिक दुरी कायम राखेर काम गर्नुपर्ने हुन्छ । तर हाम्रो काम नजिकिएर गर्नुपर्ने भएकाले काम गर्न पाएका छैनौँ । सुरक्षित भएर घरमै बसेका छौँ । तर अहिले आम्दानीभन्दा पनि खर्च धेरै भइरहेको छ । दैनिकी चलाउन गाह्रो हुन लागि सक्यो । अहिलेसम्म दुई चार दिन अघि भएको आम्दानीले नै घर व्यवाहार गरिरहेका छौँ । भोलि पहिलेकै स्थितीमै कसरी फर्कने हो ? त्यो पनि चिन्ताको विषय भएको छ । भर्खर मात्रै बैंकबाट ऋण लिएर व्यवसाय बिस्तार गरेको थिए । बिस्तार गरेको केही समयमै लकडाउन भयो । अब बैँकको ऋण तिर्ने भन्ने नै चिन्ताको विषय भएको छ । हाम्रोे समस्या बुझेर बैंकहरुले ब्याज सहुलियतको व्यवस्था गरिदिए थोरै भएपनि राहत पुग्ने थियो । काभ्रेमै बसेर व्यवसाय गरेको २० वर्ष भइसक्यो । यस बाहेक अरु सीप पनि छैन । त्यहीँ भएर यसमै निर्भर छु । आफूले सकेसम्म यसलाई निरन्तरता दिने सोच बनाएको छु । अहिले परिस्थितीले गर्दा व्यवसाय मर्कामा परेको छ । तर भोलिको दिनलाई यसलाई थप व्यवस्थित बनाएर फरक ढंगबाट अगाडी बनाएको छु । घरदैलो सेव पनि सञ्चालन गर्ने कि भन्ने योजना बनाएको छु ।

     

    सुनिता बादे श्रेष्ठ, सौन्दर्य व्यवसायी एवं सिटिभिटी प्रशिक्षक– कटस् एण्ड केयर ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर


    पछिल्लो समयमा बनेपामा कारोना संक्रमितको संख्या बढ्दै गएकाले अहिले सुरक्षित भएर घरमै बसी रहेको छु । एक महिना अघि नियमित सेवाग्राहीलाई स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर सामान्य सेवा पनि दिइरहेको थिए । नजिकिएर काम गर्दा जोखिम हुने भएकाले सौन्दर्य सेवाभन्दा पनि सौन्दर्य सामाग्री बिक्रीको कामलाई प्राथमिकतामा राखेको थिए । तर स्थिती नाजुक भएपछि फेरि लकडाउन भएकाले व्यवसाय फेरि ठप्प भएको छ । त्यहीँ भएर अहिले अलि फुर्सद मिलेको छ ।
    कोरोनाले गर्दा धेरै क्षेत्रमा असर त उत्तिकै परेको छ । तर यसमा चाहीँ अलि धेरै नै भएको छ जस्तो लाग्छ । नजिकिएर काम गर्नुपर्ने हुदाँ यसमा धेरै नै जोखिम छ । अहिले धेरैले रोजगारी गुमाउनु भएको छ । ऋण लिएर ठूलो लगानी गर्नेलाई धेरै मर्का परेको छ । सौन्दर्य व्यवसाय मात्र नभएर सौन्दर्य सम्बन्धी प्रशिक्षक पनि भएकाले अहिले तालिमहरु सञ्चालन नहुदाँ धेरै असर परेको छ । तालिमका लागि सबै तयारी भएपछि लकडाउन भयो । तालिम सञ्चालन नभएपनि कोठा भाडा तिर्नै पर्छ । समग्र रुपमा हेर्दा लकडाउनले करिब १० लाख जति घाटा हुने अनुमान गरेको छु ।
    आफूले जानेको सीप नै यहीँ हो । अरु व्यवसायतर्फ सोच नै भएन । त्यहीँ भएर यसमै निर्भर छु । पहिले यसैबाट राम्रो भएको थियो । अहिले यो विषम परिस्थितीले गर्दा मात्र अलिकति समस्या भएको हो । नत्र यो व्यवसाय निकै राम्रो व्यवसाय हो ।
    अहिले समय यस्तो भयो भनेर वषौँदेखिको व्यवसाय छाड्नु भएन । यो विषम परिस्थिती सामन्य हुन त अलि समय लाग्छ नै । यसमा धेरै लगानी गरिएकाले यसलाई नयाँ ढंगबाट कसरी लैजाने भन्नेमा सोच बनाएको छु ।

     

    रुश्का बैद्य श्रेष्ठ, सौन्दर्य व्यवसायी एवं सिटिभिटी प्रशिक्षक आएटिसी ब्यु्टी पार्लर एण्ड ट्रेनिङ सेन्टर, स्कुल अफ ब्युटिसियन


    कोराना भाइरसका कारण देश लकडाउनमा छ । तर पनि आफूले गर्दै आएको काम भने रोकेको छैन । फेसबुक लाइभ प्रोग्राम मार्फत सेवाग्राहीलाई सौन्दर्य सम्बन्धी टिप्सहरु दिने गरेको छु । यो कार्यक्रम पहिले पनि गर्दै आएको थिए । अहिले भने यसलाई बढि समय दिएको छु । यसका साथै अर्गानीक सौन्र्दयका सामाग्राी पनि बनाउँदै छु । बगैँचाको स्याहार सुसार र परिवारलाई पनि समय दिन पाएको छु । कोरोना भाइरसको असर तुलनात्मक रुपमा सौन्दर्य क्षेत्रमा बढि नै देखिएको छ । यसमा दुई किसिमले असर गरेको छ । एक त यो नजिकिएर काम गर्नुपर्ने हुदाँ स्वास्थ्यमा निकै नै जोखिम छ । अर्को भनेको लकडाउनले गर्दा शुभ कार्य तथा इभेन्टहरु सबै ठप्प छ । हाम्रो आम्दानीको प्रमुख श्रोत नै बन्द भएकाले आर्थिक रुपमा पनि असर परेको छ । सानो पूँजीबाट पनि व्यवसाय गरेर आत्मनिर्भर भएका महिलाहरु लक डाउनले गर्दा भोलि आफू बिस्थापित हुने पो हो कि भन्ने चिन्तामा छन् । लामो समयदेखि सौन्दर्य क्षेत्रमा आबद्ध भएकाले यसमै निर्भर छु । आम्दानीको श्रोत नै ठप्प हुदाँ अलिअलि असर त परेकै छ । धेरै समय यो क्षेत्रमा नै काम गरेकाले अहिलेसम्म अरु व्यवसायको बारेमा सोच्नै परेको छैन । आजको स्थिती राम्रो भएन भनेर हरेष भने खानु हुदैन । भोलिको दिन अवश्य राम्रो हुनेछ । अब भोलिको लागि थप नयाँ तरिकाबाट का गर्नुपर्छ । अहिले अर्गानिक उत्पादनको बजार राम्रो भएकाले अब अर्गानिक उत्पादनतर्फ पनि आफू केन्द्रित हुने सोच बनाएको छु ।

    रामेश्वरी मानन्धर, सौन्दर्य व्यवसायी एवं प्रशिक्षक पर्ल ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर

    पहिलो चरणको लकडाउनमा त अनलाइन क्लास पनि चलाएको थिए । अहिले त्यो पनि बन्द छ । त्यसकारण अहिले फुर्सदमा घरमै सुरक्षित भएर बसेको छु । अरु काम जस्तो भए, घरमै बसेर जसरी गरिन्थ्यो । तर यसमा धेरै जोखिम भएकाले घरमै बसेर गर्न पनि मिल्दैन । अहिलेको यो स्थितीमा हामीलाई धेरै नै गाह्रो छ । लक डाउन फेरि लम्बिएपछि अब दैनिकी कसरी चलाउने भन्ने नै चिन्ता भइसक्यो । यो समग्र सौन्दर्य व्यवसायीको समस्या भइसकेको छ । यसको असर दिर्घकालिन नै देखिन्छ । लकडाउन खुलेपनि तत्कालै काम गर्न सकिने स्थिती छैन । पहिले यो निकै राम्रो व्यवसाय थियो । अहिलेको परिस्थितीले गर्दा मात्र यो व्यवसायमा मर्का परेको हो ।
    १३ वर्षदेखि नै सौन्दर्य व्यवसायबाट दैनिकी चलाउदै आएको छु । भोलि पनि यसैलाई नै निरन्तरता दिनेछु । अब अहिलेकै तरिकाबाट भोलि व्यवसाय गर्न अलि गाह्रो हुने देखिन्छ । त्यसकारण अलि व्यवस्थित भएर नयाँ सोचका साथ व्यवसायलाई अगाडी बढाउने योजना बनाएको छु ।

     

    अप्सरा खत्री, सञ्चालक एवं सौन्दर्य व्यवसायी अस्मिता ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर


    लकडाउनले गर्दा अहिले अलि फुर्सद मिलेको छ । फुर्सदको समयमा सेवाग्राहीलाई फोन तथा सामाजिक सञ्जालमार्फत सौन्दर्य सम्बन्धी जानकारी गराउने गर्छु । तर बाँकी समय कसरी बिताउने र के गर्ने भन्ने नै हुन्छ । लकडाउनले व्यापार व्यवसाय ठप्प छ । आम्दानीको श्रोत कसरी जुटाउने भन्ने चिन्ता छ ।
    अहिलेको आम्दानीको श्रोत नै सौन्दर्य व्यवसाय हो । कोरोना भाइरसले निम्त्याएको महामारीका कारण व्यवसाय ठप्प हुदाँ धेरैलाई घर व्यवहार गर्न मुस्किल भइसकेको छ । यस विषयमा सम्बिन्धत सरोकारवालाको ध्यान दिन सकेको छैन । यस विषयमा ध्यान केन्द्रित भएपनि धेरैलाई राहत मिल्ने थियो ।
    व्यवसाय गरेको ८ वर्ष भयो । अहिलेसम्म यस्तो संकट कहिल्यै आएको थिएन । व्यवसाय गर्न पनि जोखिम छ । अब पहिलेकै स्थितीमा फर्किन निकै समय लाग्ने र यो निकै चुनौतिको विषय देखिन्छ । भोलि व्यवसाय सुरु गरेपनि सबैभन्दा पहिले स्वास्थ्य र सुरक्षा नै पहिलो प्राथमिकता राख्नेछु ।

     

    यो समाचार काभ्रेबाट शुक्रवार प्रकाशित हुने बेथानचोक साप्ताहिकबाट लिइएको हो ।

    प्रतिक्रिया दिनुहोस