२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

निजामती सेवाप्रतिको जनअपेक्षा र वर्तमान अवस्था

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १४७४ पाठक संख्या
  • तारादेवी सुनुवार

    गरिबि अभाब र बिपत्तीमा जीवनयापन गरि रहेको आम जनसमुदायको स्थायी सरकारसंगको आशा भरोषा र अपेक्षा दैनिक जीवन यापन गुणस्तरीय जीवनको सपनासंग जोडिएको छ । सार्वजनिक प्रशासनसंग जोडिएका हरेक अवयब प्रत्यक्ष परोक्ष रूपमा जनअपेक्षासंग जोडिएको हुन्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगार, सुरक्षा, न्याय र रक्षासंग आफु अनुकुल आफ्नो दक्षता, क्षमता र भूगोल अनुरूपको व्याख्या हरेक मानिसले गरेको पाईन्छ ।

    नेपालमा घरायसी कामदार र पजनी प्रथाबाट प्रारम्भ भएको निजामति सेवाले बि.सं. २०१३ सालमा कानूनी मान्यता लिएर आकार र स्वरूप ग्रहण गरे पछि आम मानिसको निजामती सेवासंग अपेक्षा देखिने क्रम समयसंगै फरक रह्यो । यद्यपी वस्तुनिष्ठ ढँगले हेर्ने हो भने यसको बिगत देखि वर्तमानसम्मको जनअपेक्षामा कुनै फरकपना आएको पाईदैन ।

    जनसमुदायको प्रत्येक दिनको दैनिक जीवनमा सरकारसंग गरिएको अभिभावकिय आशाका विषयमा राजनैतिक प्रतिनिधीको भौतिक उपस्थितिले आफुलाई न्यानो बनाउने मन बुझाउने आवश्यकता पुरा गर्ने ओभानोमा पेटभरी खाएर एउटै छानोमा रमाउने सपनाको अनन्य सहयोगी र सहजकर्ताको भूमिकामा निजामती सेवालाई नै लिने गरेको पाईन्छ ।
    शिक्षा, चेतना, सूचना, सञ्चारको पहुँच र विकासले अपेक्षामा परिवर्तनको रूप देखिन्छ । २०१५ सालमा भएको जनअपेक्षा आजको समयमा गुणात्मक रूपले फरक छ । यद्यपि त्यो जनसमुदायको प्रत्येक्ष दैनिकीसंग सम्वन्धित छ गर्भमा रहेदेखि आफु मृत्युपछिको मसानघाटसम्म आवस्यक सम्पूर्ण पक्षको आवश्यकतामा अभिभावकीय अपेक्षा निजामति सेवासंग जनसमुदायले खोजेको पाईन्छ । गर्भको सुरक्षा, सुरक्षित जन्म, सुरक्षित बालापन, उचित शिक्षा, र उचित रोजगारी, समाजिक सुरक्षा पारिवारिक रक्षा, सुरक्षा, पेटभरी पौष्टिक खाना उचित उपचार व्यवस्थित सुरक्षित र संरक्षित बृद्धावस्था, सहज मृत्यु दैवी प्रकोपबाट सुरक्षा र मृत्युपछिको उचित व्यवस्थापनमासमेत निजामति सेवाको भर विश्वास र आशा जनसमुुदायले राखेको पाईन्छ । यरी हेर्दा समग्र गुणस्तिरीय जीवनको अभिन्न अँगको रूपमा निजमाति सेवासंग जनविश्वास र भरोषा गाँसिएको छ ।
    फरक भूगोल र दुरदराजमा पनि जनसमुदायले प्रत्येक्ष भेट्ने निजामती कर्मचारीले जनअपेक्षा पुरा गर्न सकेको वा नसकेको विषय फरक हो तर आफ्ना अपेक्षा पुरा गर्न गराउन जनसमुदायले निजामतीसेवाका प्रतिनिधीलाई फरक लाभ दिनु नपरोस स्वभाविक कानूनी अधिकारको रूपमा आफ्ना आवश्यकता आकाँक्षा र सपना पुरा गराउन सकियोस, प्राप्त होस भन्ने नै मुख्य जनअपेक्षा रहेको देखिन्छ ।
    निजामति सेवा सरकारको प्रतिनिधि र सेवा प्रवाहको सहजकर्ता भएकोले जनआकाँक्षा अनुकुल काम गर्न गराउन सकेको र जनबिश्वास पुर्ण रूपमा ग्रहण गरि कार्यसम्पादन गर्न नसकेको गुनासो सर्बत्र पाईन्छ । जतिसुकै गुनासो गरे पनि सुधारको लागि हो संसारमा निजामती सेवाको बिकल्प कसैले सोचेको वा स्थापित हुन सक्ने अवस्था छैन । बिकल्प हिन सहजकर्ताको भूमिकालाई प्रचलित कानूनको अधिनमा रही आफुले पाउने लाभ र बृत्ती विकासको विषयलाई गौण राखेर जनअपेक्षा अनुकुल आफ्ना बिधि व्यवहार र क्रियाकलापलाई अगाडी बढाउनु आजको आवश्यकता हो । यद्यपि, यो चुनौतीको रूपमा रहेको वर्तमान यार्थाथसमेत देख्न सकिन्छ ।

    निजामति सेवप्रतिको जनअपेक्षाको लागि हरेक तह र तप्कामा रहेका कर्मचारीहरूले निस्वार्थ भावले जनसेवा गनुर्को विकल्प छैन । मानव जातिको आधारभूत आवश्यकता परिपूर्तिदेखि अन्तिम अवस्था सम्म जिम्मेवारी बोकेको क्षेत्र निस्क्रिय भयो भने समग्र राष्ट्र निस्क्रिय हुन्छ र राष्ट्र निक्रियय हुँदाकोे प्रतिफल के हुन्छ यस्मा कसैले व्यख्या गरिरहनु पर्दैन । जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले निजामति सेवामा जनअपेक्षा धेरै भन्दा धेरै हुनु अस्वभाविक हैन । हाल देश नै नयाँ संरचनाको कार्यान्वयनको अवस्थामा रहेको छ । संरचना नयाँ भए पनि निजामति सेवा नयाँ नभएकोले दुरदराजसम्म पुगेर पूर्ण जनसेवा प्रभावह गरिरहेको अवस्था रहेको छ तापनि सुगमदेखि दुर दराजका जनताले पाउनु पर्ने सेवा कति प्रभावकारी रूपमा पाए भन्ने कुरामा ध्यान पुराउनु पर्र्ने हुन्छ । नेपालको भूगोलले सहज नभए पनि निजामति सेवा प्रवाह गर्ने कुरामा भूगोलको कारण कुनै अवस्थामा जनताको आकाँक्षालाई निस्तेज गर्नु हुँदैन । राज्यको महत्वपूर्ण पाटो निजामति सेवा रहेको कारण निजामति सेवाबाट गुणस्तरीय सेवा पाउने जनअपेक्षा नौलो भएन । अपेक्षा मात्रै नभएर एउटा नगरिकको भविश्यको निक्र्योल गर्ने दायित्व निजामति सेवा भित्रै पर्दछ । समाजमा नागरिकको शिक्षा स्वास्य, सामाजिक सुरक्षा देखि लिएर राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्ने सम्पूर्ण दायित्व निजामतिसेवा भित्रै रहेको छ ।

    तर्सथ जनताले निजामतिसेवालाई सम्पूर्ण जीवन चक्र पूरा गर्ने आधार तथा देशको भविश्य सँग दाजेर हेर्ने गर्दछन् । यसो हुनु भनेको सिंगो राज्यको लागि दुर्भाग्य हो राष्ट्रप्रतिको निराशाले पक्कै पनि राम्रो सन्देश दिदैन । जुन निकायबाट जीवनका हरेक काम काज सहज रूपमा गराउनु पर्ने हो सोहि निकायसँग डर बोकेर जनता कसरी अगाडी बढ्न सक्छन ? जनताको सेवा गर्नको लागि भनेर निजमति सेवा स्थापना भएको सार्थकता नहुन सक्छ । नेपालको विकास र समृद्धि सिधै निजामति सेवाका विभिन्न समुह भित्र जोडिएका हुन्छन । देशको समग्र विकास गर्ने निजामति भित्रका विभिन्न सेवा समुहभित्र रहेका जनशक्तिले ईमान्दारितापूर्वक आ–आफ्नो जिम्मेवारी पुरा गर्ने कामबाट चुकेर लोभ लालचमा परेर बाटो बिराउँदा व्यक्तिको निजि जिवनमात्र नभएर पुरै संस्था नै बदनाममा फस्नु पर्ने हुन्छ । निजामती सेवाका सबै जनशक्तिहरूलाई वर्तमान समय सापेक्ष दक्षता र क्षमतावान बनाउँदै लैजानु पर्ने पनि आजको आवश्यक्ता पर्दछ । कतिपय पूराना जनशिक्तको कार्यशैली र वर्तमान जनताको अपेक्षामा मेल नखाएर पनि दुबिधा उत्पन्न हुन सक्छ त्यसो भए मा सिंगो निजामती सेवा प्रति प्रश्न चिन्ह खडा हुन्छ यर्सथ समय सापेक्ष सिप विकास तथा सशक्त गराउँदै लैजान पनि आजको आवश्यक्ता हो । काम गर्ने शिलशिलामा नाता, आफन्त र भनसुनको आधारमा मात्र छिटोछरितो रूपमा काम गर्ने परिपाटीलाई अन्त्य गरेर सम्पुर्ण नेपाल जनताको हितमा काम गर्ने परिपाटीको विकास गर्नु पनि आजको आवश्यक्ता हो ।

    पछिल्लो समयमा निजामती सेवा प्रति जनअपेक्षा निरासाजनक रहेको कुरा सबैको सामु छर्लङ्घ छ । चिल्लो गाडिमा बसेर सरर अफिस जाने अनि अफिसको पनि माथिल्लो तला वा भि आइं.पि कोठामा आफ्नो कार्यकक्ष बनाएर जनताबाट टाढै बसेर जनतालाई जनताको लागि योजना बनाउने र कार्यान्वय पनि सोही शैलीमा गर्दै जाने हो भने निजामती सेवाले नजिकबाट सेवा प्रदान गरेको महसुस मात्रै हुन्छ प्र्रभाव सुन्य हुन्छ । यदि त्यहि काम ग्रामिण भेगमा बस्ने जनताको आवाज योजना तर्जुमा देखि कार्यान्वय सम्म समेटेर लान सकियो भने जनताको लागि निजामती सेवा सर्मपित रहेको महसुस गर्ने छन् । हरेक संघ सस्थामा एक दुई जना व्यक्ति हाबी हुने परम्परा पनि यथावतै छ निजामति सेवा पनि यसबाट अछुतो छैन । व्यक्तिगत स्वार्थको लागि सस्थालाई प्रयोग गरेर सस्थाकै बद्नामी गर्ने व्यक्तिहरूको खाचो छैन । यद्यपी एक दुईजना व्यक्तिले गर्दा सिंगो सस्थालाई नै निरासाजनक बनाउनु र मान्न हुदैन भन्ने पनि जनचाहाना रहेको छ । सयौ , हजारौ संख्यामा प्रतिस्पर्धा भएर आएका जनशक्ति अरू भन्दा दर्बिलो हुने कुरामा पनि जनताको विश्वास छ । जनताको यो विश्वासलाई कायम गर्दै समय सापेक्ष जनतालाई सेवा प्रदान गर्नु निजमति सेवाको धर्म र कतव्र्य हो । जनताको प्रत्यक्षरूपमा सरोकार राख्ने सस्थाका पदाधिकारीहरूले जनताको सहकर्मी भएर उनीहरूको विश्वास टुट्न नदिन आजको चुनौति रहेको छ । नेपाल जस्तो विकासशिल देशमा जनताले राज्यबाट बढि अपेक्षा गर्नु स्वभाविकै हो जनचाहाना अनुसारको सबै सेवा प्रदान गर्न त नसकिएला तर जति सेवा प्रदान गर्नु पर्ने दायित्व त्यति चाहिँ निश्पक्ष र छिटो छरितो रूपमा प्रदान गर्न सकियो भने पनि जनताको मन दुख्दैन । सरकारी कार्यालयहरूमा सजिलो र छिटो काम गरिदिउन भन्ने जनताको अपेक्षा हुन्छ तर हाम्रो कार्यशैली सिस्टम र व्यबाहारले त्यसो नगरेको वर्तमानको तितो सत्य हो । ऐन, कानून निति नियमलाई सजिलो र भरपर्दो बनाई जनताको कामलाई सुगम दुर्गम सबै क्षेत्रमा सेवा प्रदान गर्नु पर्ने आजको आवश्यकता हो । नजिकको सेवा प्रदायक निकायमा जनतालाई दिने सेवा भन्दा झन्झट बढि भएको महसुस जनताले गर्नु हुँदैन । निजिमती सेवाको सार्वेपरि लक्ष्य भनेको जनताको सेवा नै हो । राजनितिले पनि निजामती सेवालाई प्रभाव पार्ेको अवस्था छ । नेताले भनेको काम तत्कालै नगरि धर नपाउने र नेताहरूले नचाहेको काम गर्न नदिने प्रचलन व्यापकरूपमा झांगिएको छ यो भनेको देशको लागि दुर्भाग्य नै हो । निजामती सेवामा राजनिति गन्ध हुनु नहुने हो तर हाम्रो देशमा पार्टीका भातृ संघसंगठनहरूको बिगबिगी नै छ । राजनितिक गर्ने सस्था र सेवा प्रदायक सस्था एकै भए पछि आफ्नो मान्छेलाई छानेर सेवा दिने कार्य कुनै नौलो हैन ।

    राजनितीमा पहुँच हुनेहरूको लागि जुनसुकै काम गर्न पनि सजिलो हुने र राजनितिमा पहुँच नहुनेहरूको लागि फलामको चिउरा चपाए जस्तै हुन्छ । अत निजमति सेवालाई राजनिकिरण गरिनु हुदैन । राजनितकरणमा निजामिती सेवा फस्ने हो भने देशका आधा जनताले मात्रै पुरै सेवा पाउने र आधा जनताले भोली हुन्छ मेरो काम भनेर दिन बिताउने बाहेक केहि हुँदैन । नेता कर्मचार िदुवै राजनिति गर्ने भयो भने देश र जनता उभो हैन उधोगतितिर लाग्छन् । नेपालको निजामती सेवामामा राजनिति प्रभाव परेको जनताले प्रत्यक्ष अनुभव गरेका छन् राजनितीक पार्टी कुन भनेर हेर्ने प्रबृत्तीले निश्पक्ष रूपमा काम गर्ने कर्मचारीहरूको मनोबल गिर्छ र मनोबल गिरेको कर्मचारीले गुणस्तर सेवा प्रदान गर्ने कुरा कल्पना मात्र हुन्छ व्यबाहारमा हुँदैन । जनताको प्रत्यक्ष सरोकार राख्ने निकाय निजामती सेवा विल्कुलै निश्पक्ष र दक्षता हुनु पर्दछ । कसैलाई पनि आप्mनो पराई नठानेर सेवा प्रदान गर्ने निकाको रूपमा विकास गर्नु पर्दछ । निजामती सेवा जोडिएको हुन्छ ।समय सापेक्ष आफुलाई परिवर्तन गरि पूराना शैलीलाई सकारात्मक सुधार तथा नयाँ प्रविधिहरूको सहि सदुपयोग गर्दै जनसेवा गर्दै जानु आजको अर्को चुनौती रहेको छ ।

    पछिल्लो समयमा जनताले निजामति सेवालाई बढि झन्झटिलो मानेको पनि पाइन्छ । ढिला सुस्ती भएको जुन रफतारमा सेवा पाउनु पर्ने हो त्यो रफतारमा आफुहरूले अपेक्षा गरे अनुरूपको सेवा नपाएको जनगुनासो नरहेको हैन । जनताले छिटोछरितो र स्वच्छरूपको सेवा पाउन अपेक्षा गरिरहेका हुन्छन् । सरकारी कार्यालयबाट पाउने सम्पूर्ण सेवालाई छिटोछरितो तवरबाट लिन खोजिरहेका हुन्छन् । आजको युग र प्रविधिले सबै नागरिकले युग अनुसारको सेवा खोज्नु स्वभाविक हो । युग र प्रविधिमा आधारित भएर सेवा प्रदान गर्नु निजामती सेवाको आजको आवश्यक्ता हो ।
    समाजलाई कता लैजाने भन्ने दिशानिर्देश गर्ने जिम्मवारी पनि निजामिति सेवाको नै देखिन्छ । २००८ साल देखि निरन्तर रूपमा देश र जनतालाई स्थाई सेवा प्रदान गर्ने यहि संस्था हो । देशमा विभिन्न उथलपुथल भए विभिन्न राजनितिक पार्टीहरूको सरकार आयो गयो तर पंचायत, प्रजातन्त्र लोकतन्त्र गणतन्त्र हरेक शासन फेरबदल भए तर निजामति सेवा फेरिएको छैन । स्थाई सरकार हो जो देशको लागि सकरात्मक परिवर्तन गर्नमा ठुलो हात हन्छ । हिजोका अवस्था र परिवेश जस्तो आज पक्कै छैन चाहे राजनितिक पार्टीमा होस चाहे जन अपेक्षा, समय र परिस्थितिलाई मध्यनजर गर्दै राजनितिक पार्टीहरूले जनताको आँकाँक्षा अनुसरा सेवा प्रदान गर्न र राष्ट्रकोे उन्नती प्रगति गर्नु अनिवार्य विषय हो ।
    कुनै संस्थामा काम गर्ने कारिन्दाहरू कोही दास जस्तो कोही मालिकको जस्तो व्यबाहार भयो भने संस्थाको छबि नै कमजोर हुन जान्छ जहाँ विभेदको चक्कर चल्छ त्यहाँ एक पक्ष कमजोर अवश्य हुन्छ । कमजोर र बलियो भई आफै भिडन्त गरि रहँदा अरूको लागि केहि गर्न सक्ने त कल्पना मात्रै हुन्छ तर्सथ पनि निजामती सेवा स्वच्छ र इमान्दारिता हुनु नितान्त आवश्यक छ । राजनितिक पार्टीको आडमा नेताको आडमा,शक्तिको आडमा निजामती सेवामा काम गर्ने कर्मचारी अडिए भने जनताले उनीहरूबाट अपेक्षा गरेको कुरा कुनै हालतमा पुरा गर्न सक्दैनन । इमान्दारिताका साथ आफ्नो कतव्र्यबाट बिमुख नभई दिन रात आफ्नो समय जनताको सेवामा खर्चियो भने मात्र निजामती सेवाको धर्म निर्वाह हुन्छ । काम प्रति आफै सन्तुष्ट भएर काम गर्नुको मजा बेग्लै हुन्छ । निजामती सेवामा विभिन्न राजनितिका भातृसंगठन जस्तै भई विभिन्न संघसंगठनको व्यवस्था हुनुले पनि निजामती सेवालाई मजबुत हैन कमजोर बनाई संस्था प्रति नै अविश्वास बढ्दै गएको छ । संस्था भित्रै म यो पार्टीको उ अर्कै पार्टीको भन्ने प्रबृत्तिले शक्तिको आडमा जागिर खाने,आफुले भनेको ठाउँमा सरूवा गर्ने बढुवा सिफारिस हुने मानपदबी प्राप्त गर्ने चलनले निजामती सेवामा स्वयम कार्यरत आधा हिस्सा पहुँच बिनाका कर्मचारीहरूले निराशा बाहेक केहि भेटेको पाइदैन ।
    आफ्नो मान्छे पद प्रतिष्ठामा भए पछि निजामती सेवाको ऐन नियम अनुसार केहि लागु गर्नु नपर्ने, आफ्ना पहुँच नहुनेहरूलाई मात्र निजामति सेवा ऐन नियम लागु हुने प्रचलन बढ्दो गतिमा छ जुन सिंगो संस्थामाथि नै अविश्वास बढिरहेको छ । निजामती सेवा स्वच्छ र निश्पक्ष हुन्छ भन्ने जनविश्वासलाई पछिल्ला घट्नाक्रमहरूले धमिलो देखाउन थालेको छ । एक दुई जना व्यक्तिको स्वार्थको लागि संस्था नै धरापमा पार्नु नहुने कुरा निजामती सेवाका विशेष ठाउँमा बस्नेहरूले सचेत हुनु पर्ने बेला आएको छ । व्यक्ति अस्थाई हो संस्था स्थाई हो यस्मा दक्ष व्यक्तिहरू आउँछन जान्छन सदा ढोका खुल्ला हुन्छ । निजामति सेवाको संघारमा बाधा अडचनहरू छन भन्ने कुुराको विश्वास दिलाउन पर्ने हुन्छ । सरकारी कर्मचारी भन्ने वितिक्कै जनताको दिमागमा घुस खाने,ढिला सुस्ती गर्ने ठग्ने आदि आदि रहेको छ ।

    सेतो सर्ट निलो रंगको पाइन्ट अर्थाथ सरकारी पोशाकसँग जनता चिडिन थालेका छन् । व्यक्तिको हरेक काममा सरकारी काम जोडिएको हुन्छ तर उनीहरूलाई किन निरास हुन बाध्य बनाईयो ? किन विश्वास गर्दैनन ? यस्ता कुराहरूको खोजी गर्नु पर्ने बेला भएको छ । भोलको दिनमा सरकारी पोशाक लगाएर हिड्दा ढुंगा मडा खाने वातावरण सृजना गर्नु हुदैन । सजिलै हुने एक आधा घण्टामा हुने कामलाई पनि दिनभरी लगाउने घण्टौ कुराउने, भोली भन्ने , मौका पर्यौ कि दुईचार पैसा लिई हाल्ने यस्ता क्रियाकलापले जनता वाक्क दिक्क भएका उदाहरणहरू प्रसस्तै छन् । यस्ता प्रबृत्तिलाई संस्थाले चासो देखाएर असल खराब व्यक्तिको पहिचान गरि आफ्नो लाई संरक्षण पाईलाई पाखा नलगाई दण्ड सजाय,पुरूस्कारको व्यवस्था हुन जरूरी छ । जनगुनासो आउने कारणमा कर्मचारीको मनोवृतिले पनि सहयोग गरेको छ । निजामती सेवाभित्र प्रवेश गरे पछि सर्वेसर्वा हुने व्यक्तिगत मनोवृत्ति, आफ्नो मान्छेले ढाकछोप गर्ने प्रचलन, राजनितिक पार्टीको सहयोग, संघसंगठनले आफ्नो पंक्षलाई काखी च्याप्नु अर्को पंक्षलाई खोजी खोजी पाखा लगाउनु , चाकडीवादले प्रसय पाउनुले पनि खराब काम गर्नेहरूको मनोबल नगिर्नु आफ्नो सेवा प्रति लार्पाबार्ही हुनुले आज निजामती सेवा अर्थात सरकारी कर्र्मचारी भन्ने वितिकै जनताको मनमा त्रास बढेको हो ।
    एउटै मालमा उनिएका फूलहरूलाई चुडेर फरक फरक ठाउँमा फरक नाम दिए पछि मालाका कुनै अस्तित्व रहदैन त्यस्तै आजको परिवेशमा निजामती सेवालाई नै अन्योलको बाटातिर धकेल्न खाजिएको भान हुन्छ । फरक फरक ऐन,नियम बनाएर भाई भाई बीचमै नैराश्य उत्पन्न गराउन खोजिएको भान हुन्छ । आफै निरिह बनेर कति दिन मुस्कान सहितको सेवा प्रदान गर्न सक्छन भन्ने कुराको पनि हेक्का राख्न जरूरी छ । एकातिर देशलाई गति दिनु छ अर्कोतिर जनतालाई सुखी र खुसी बनाउँनु छ । आफै खुसी हुन नसकेको मानिसले के खुसी दिन सक्ला ?त्यसकारण पनि वृद्धिविकास, सेवा सुविधालाई उत्साहजनक, आफ्नो सन्ततीको पालनपोषण,शिक्षा दिक्षामा आवश्यक सहयोग हुन जरूरी छ । यसमा जनताको प्रत्यक्ष सरोकार सँग जोडिएको हुन्छ । जनताले छिटो छरितो सेवा नपाउनुको मुल कारण मध्ये एउटा कारण कर्मचारी आफै पिडित र अभावमा भौतारिनु पनि हो तर्सथ उसको व्यक्तिगत आवश्यक्ता परिपूर्ति हुने खाले कदम चाल्न सकियो भने अझ राम्रो हुने कुरामा शंका छैन । जनताको नजिकबाट नजिक रहेर जसले सेवा प्रदान गर्नु पर्ने हुन्छ उहि पिडित हुनु पर्ने जनताबाट टाढै बसेर गफमात्र गर्दा पनि पुग्नेहरूको सान मान हुने परम्पराको पनि अन्त हुनु पर्दछ । राजधानी र आसपासमा बसेर सेवा दिनेहरू र ठुलाबडाको चाकडी गर्ने मात्रै कर्मचारी हुन भन्ने एक खाले सोचले भरिएको प्रथा पनि हाम्रै सामु छलङ्र्ग छ । जसले पिडित व्यक्तिको दिमागमा मात्र असर पर्दैन, संस्थाप्रतिको विश्वास मात्र घट्दैन सिंगो राष्ट्रप्रति नै बेइमान हुन्छ । जनताले आफुले मात्र प्रभावकारी सेवाको अपेक्षा गरेका छैनन । सिंगो निजामती सेवाको सुधार पनि खोजिरहेका छन् । काम गर्ने कालु मकै खाने भालु यो उखान निकै सान्दार्भिक छ काम गर्ने बेलामा तल्लो तहकोे निमुखा जनशक्तिको प्रयोग अवसर लिने बेलामा पहुँच वाला र माथिल्लो निकाय तथा माथिल्लो तहका जनशक्तिले मात्र अवसर पाउने परम्परा नै भएको छ निजामति सेवामा जुन संस्थाको लागि घातक प्रथा हो । सेवा अवधीको अधिक समय दुर दराजमा मात्र काम गरेर निभृतिभरण हुने पनि यहि संस्थाभित्र छन पहुँचवालाहरू दुरदराज घर भए पनि सुगम र सुविधा सम्पन्न ठाउँमा सेव अबधि भरी सेवा प्रदान गर्ने पनि यहि सस्थाभित्र रहनुले निजामति सेवा ऐन नियमको ध्वजी उडाएको मात्र हैन ऐन नियम पहुँच नभएकाहरूका लागि बनेको दस्तावेज मात्रै जस्तो देखिन्छ । यसरी चलेको निजामति सेवाले जनताको कुन अपेक्षा राम्रोसँग पुरा गर्न सक्छ भन्ने प्रश्न उठ्छ । जनशक्तिहरू अनावश्यक कुरामा भुल्न नदिनको लागि उनीहरूको व्यक्तिगत बृद्धि विकासका कुरालाई ध्यान दिनु पर्ने हो ।

    जगमै गलत भयो भने पछि सर्पाछु भनेर हुँदैन झन बिर्गन्छ यसकारण जगै देखि निजामती सेवालाई सुधार गरि जनसेवा मुखि बनाउँन जरूरी देखिन्छ । सामान्य भन्दा सामान्य कुरामा ध्यान गएन भने एकै चोटी ठुलो काम गर्ने योजना बनाएर मात्र हुँदैन । ठुलो काम गर्नको लागि सर्वप्रथम सा–साना काममहरू पुरा गर्नुृ पर्ने हुन्छ तर्सथ पनि जनअपेक्षा अनुसार सेवा प्रदान गर्नको लागि सर्वप्रथम आफै सुध्रिन तथा आफै सक्षम सवल र सकरात्मक हुन जरूरी छ । संस्थागत हितको लागि आफु कसैको दबाबमा नपरि आफ्नो कतव्र्यको पालना गर्न आँट गर्नु पर्दछ । जनतासँग प्रत्येक काम नपरे पनि कुनै न कुनै काममा हरेक निकायहरू सम्बन्धित हुन्छन एक न एक दिन आफ्नो कामको सिलसिलामा जनताले भेट गरेकै हुन्छन । सेवा प्रदायकको लागि हजारौ सेवाग्राहीहरू आए होलान तर सेवाग्राहीको लागि उही एक जना सेवा प्रदायक हो जस्ले उस्को मानसपटलमा पहिलो प्रभाव सकरात्मक वा नकरात्मक के पार्न सक्छ त्यसले ठुलो अर्थ राख्दछ । उसले बोकेर समुदायमा बोकेर जाने सन्देश पनि त्यहि हुन्छ । यसो गर्ने वातावरण गर्ने कि उसो गर्ने वातावरण गर्ने त्यो एक राष्ट्रसेवकको व्यबाहारमा भर पर्दछ ।
    कर्मचारीले आफ्नोे दबाबमा काम गरे राम्रो मरो पक्षको नत्र सरूवा गर्नु पर्छ वा छोडेर जाउँ भन्ने पछि नपर्ने जनप्रतिनिधहरूको खाचो नभएको बेलामा कर्मचारीले कानूनी प्रावधान तथा स्व विवेकमा काम गर्ने वातावरण नभए पछि निजामती सेवाले मात्र जनआकांक्षा पुरा गर्न असम्भव छ । यस्ताखाले मनोबृद्धिले ग्रस्त भएकाहको दबाबमा नपरि मार्गदर्शन निति नियमको राम्रोसंग पालन गरि आचरणलाई सुद्ध राखेर जनताका सेवक हौ भन्ने भावनाका साथ जनसेवामा सर्मपित हुनु पर्दछ अनि मात्र जनताले सहि मूुल्यांकन गर्दछन र संस्थाप्रति भर पर्ने र संस्थाप्रति भरोशा राख्दछन् ।

    देशले नयाँ संरचनामा यात्रा तय गरेको बेलामा झनै निजामति सेवाको भूमिका अत्यान्तै महत्वपूर्ण रहेको छ । जनताले घरघरमा सिहंदरबारको परिकल्पना गरेर ल्याएको लोकतन्त्र र यस्को संरचनामा कार्यान्वयन गर्ने गहन भूमिकामा रहेको कर्मचारीवर्गले सजगताका सेवा प्रवाहलाई ध्यान दिनै पर्ने हुन्छ । हरेक सेवा सुविधा आफ्नो घरनजिकै पाउने आशाका साथ लागु गरेको नयाँ संरचनालाई हुर्काउने बढाउने र संरक्षण गर्ने प्रत्येक्षरूपमा जनप्रतिनिधिहरूको जिम्मेवारी देखिए ता पनि अप्रत्येक्ष र सशक्त भूमिकामा कर्मचारी वर्गको नै पर्दछन् । जसरी खेलमैदानमा सबै खेलाडिहरूको भूमिका महत्वपूर्ण भएर पनि गोल किपरको भूमिकालाई बढि महत्वका साथ हेरिन्छ त्यसै गरि देशको समग्र गति कता लाने भन्ने अहम भूमिका कार्यान्वयनको पाटोमा रहेका सेवा प्रदायक कर्मचारी वर्गको हुने गर्दछ । जनताको निजामती सेवाप्रतिको अपेक्षालाई मध्यनजर गर्दै जनहित र समग्र देशको उन्नतिको लागि सिंगो निजामती सेवा आफै सक्षम र सवल भई आफ्ना कार्यहरूलाई चुस्त, दुरूस्त ,स्वच्छ, निश्पक्षरूपमा अगाडि बढाउनु र जन विश्वास बढाउँदै जानु आजको आवश्यक्ता हो ।

    लेखक नमोबुद्ध नगपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस