२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

पर्यटकीय गन्तब्य बन्दै काभ्रेको अग्लो स्थान बेथानचोक

  • २०७७ भाद्र १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ११८३ पाठक संख्या
  • काभ्रे जिल्लाको दक्षिण भेगमा अवस्थित एक सुन्दर गाउको नाम हो बेथानञ्चोक । काभ्रे जिल्लाको मात्र नभएर दक्षिण एसियामा फैलिएको महाभारत पर्वत श्रृखलाको सबै भन्दा अग्लो स्थान मुख्य आकर्षण बेथाञ्चोक नारायणस्थान (३०१८ मिटर) उचाईमा अवस्थित छ ।

    नेपाललाई भौगोलिक रुपमा हिमाल, पहाड र तराई गरि ३ भागमा विभाजन गरिएको छ । जसमा चुरे पर्वतले तराई र पहाडलाई छुट्याएको छ भने चुरे भन्दा माथी रहेको महाभारत पर्वत श्रृखलाको अग्लो स्थानमा बेथाञ्चोक नारायण भगवानको मन्दिर रहेको छ । यो आफैमा  ऐतिहासीक धार्मीक तिर्थस्थल पनी हो । यस स्थानमा विषेश गरेर फागु पुर्णीमाको दिन मेला लागे पनि दर्शनार्थीहरु बर्षै भरि पुग्ने गर्दछन् । पछिल्लो समय यस स्थान आन्तरीक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । दृष्य अवलोकनको लागी प्रख्यात रहेको यस स्थानवाट १८० डिग्रीमा हिमश्रृखला अवलोकन गर्न सकिन्छ । 

    विश्वमा ८ हजार मिटर भन्दा अग्ला १४ ओटा हिमालहरु छन् त्यस मध्ये नेपालमा ८ ओटा र नेपालको सिमानामा पर्ने तिव्वतमा १ ओटा हिमाल रहेको छ । त्यस मध्ये नेपालमा पर्ने ७ ओटा र तिव्वतमा पर्ने १ गरि ८ ओटा ८ हजार मिटर भन्दा अग्ला हिमालहरु बेथाञ्चोकको एकै स्थानमा बसेर अवलोकन गर्न सकिन्छ । नेपालको पुर्वमा पर्ने मकालु बरुण देखि पश्चिममा पर्ने धौलागीरी हिमश्रृखला सम्मका हिमालहरु यस स्थानबाट स्पष्ट देख्न सकिन्छ जहाँ ६ हजार मिटर भन्दा अग्ला ६० ओटा हिमाल रहेका छन् भने अन्य पहिचान नभएका हिमाल हरु पनी यस स्थानबाट अवलोकन गर्न सकिन्छ । यति मात्र नभई उच्च पहाड, मध्य पहाड, महाभारत पर्वत श्रृखला दक्षिण तर्फ चुरे पर्वत, तराईका समथर फाँटहरु हुदै भारतका भुभाग समेत बेथानञ्चोकवाट अवलोकन गर्न सकिन्छ यसकारण यसलाई पहाडहरुको राजा अर्थात किङ्ग अफ हिल पनि भनिन्छ । साविक ढुंखर्क, च्याम्राङबेशी, चलाल, च्यासिङ्गखर्क र महाँकालचौर भुग्देउ गाविसहरु मिलाएर बनाईएको नयाँ गाउपालीकाको नामाकरण पनी यहि बेथाञ्चोकको नाम वाट रहन गएको हो ।

    यति मात्र नभई यहा रहेको लक्ष्मी नारायणको मन्दिरमा पुजा गरे मनोकामना पुरा हुने धार्मीक विश्वास रहि आएको छ जहाँ पुजा गर्नकै लागी टाढा बाट भक्तजनहरुको उपस्थिती हुने गरेको छ । बेथानचोक आसपास बनै ढकमक हुने गरि फुल्ने छ प्रकारको लालिगुराँस लगाएत विभिन्न सिजनमा फुल्ने प्राकृतिक फुलहरुले गहनाको काम गरेको पाइन्छ । बदेल, मृग, घोरल जस्ता बन्यजन्तु तथा डाँफे, मुनाल लगाएतका चराहरु अवलोकन गर्न पनि यस स्थान उपयुक्त छ । पाँचऔले, सुगन्धवाल, लोठ सल्ला, सतुवा लगाएतका २०० भन्दा बढि बहुमुल्य जडिबुटि पनि यस महाभारत पर्वत आसपासमा रहेका छन् । बेथाञ्चोक नारायणस्थान मन्दिर नजिकै २ ठुला चट्टानको विचमा रहेको शिव गुफा पनी उतिकै रहस्यमय देखिन्छ जुन गुफाको भित्र छिर्न सुरुमा लाइटको अवश्यकता पर्दछ भने केहि दुरी पार गरेपछि बाहिरको प्रकाशनै अवलोकनको लागी पर्याप्त हुन्छ । गुफाको करिव २ सय मिटर भित्र पुगेपछी अर्को गहिरो खोंच आउछ यसको गहिराई आज सम्म पत्ता लाग्न सकेको छैन जसको गहिराई अन्दाज गर्न खोंचमा सिक्का फाल्ने गरिन्छ सिक्का चट्टानमा ठोकीदै अन्तयमा कुनै तरल पदार्थमा चोपीएको जस्तो आवाज आउछ जसलाई ध्यान पुर्वक सुन्नुपर्दछ । त्यस्तै बेथानचोक संगै रहेकोे अर्को अग्लो स्थान गजरामको थुम्का हो जसलाई झण्डागाडे, चुलि डाँडा नामले चिनिन्छ यस स्थानवाट पनि हिमाल देखी तराई हुदै बिहार सम्मका दृष्यहरु अवलोकन गर्न सकिन्छ । यस स्थान अत्यन्तै सुन्दर फरालोकिलो र थली परेको छ । झण्डागाडे बाट बेथाञ्चोक नारायणस्थान तर्फको केहि दुरी पार गरेपछी भयानाक भिर तथा चट्टानहरुको अवलोकन गर्न सकिन्छ जुन स्थानमा रक क्याइमिङ्गको पनि प्रवल सम्भावना रहेको छ । 

    दश बर्षे जनयुद्धताका चर्चामा आएको कामीडाँडा पनि यहि बेथाञ्चोक गाउपालीका अन्तर्गत पर्दछ । भुस्वर्ग भन्दा पनी फरक नपर्ने काँमीडाँडा वास्तबमै मनमोहक छ । नेपाल अंगे्रज युद्धताका गोर्खाली सेना द्धारा निमार्ण गरिएको बंकर र चिया बगान यहाँको आकर्षण हो । जनयुद्धमा मात्र कामीडाडा प्रयोग नभएर यसको प्रयोग नेपाल अंग्रेज युद्धमा पनी यस स्थानको प्रयोग भएको पाईन्छ । तत्कालिन समयमा गोर्खाली सेनाहरुले ठुलो मेहेनत लगाएर तयार गरिएको बंङ्कर वास्तवमै भयानाक छ । गोर्खाली सेनाहरुले अंग्रेजहरु संग युद्ध लडेर बेथाञ्चोक ३ मा पर्ने सानो फाँटमा बास बसेको कारण त्यस स्थानको नाम अहिले पनि गोर्खाली गाँउ छ जसले त्यसलाई थप पुष्टि गर्दछ । यद्यपी बेथाञ्चोकमा युद्ध द्धारा प्रख्यात रहेका स्थानहरु पनि उत्तिकै पर्यटन मैत्री छन् ।

    विषेश गरि हिन्दू र बौध धर्मालम्बी बाहुल्य रहेको बेथाञ्चोकमा श्री कृष्ण प्रणामी मन्दिर, मुक्तेश्वर महादेव मन्दिर, क्षेत्रपाल थानीमहाँकाल मन्दिर, लक्ष्मीनारायण मन्दिर, बेथाञ्चोक नारायण मन्दिर, शिव पार्वती मन्दिर, कपेर महाँकालस्थान मन्दिर, ग्याछ्योन ङिम्पो छोइलिङ तामाङ्ग गुम्बा, साङ् डुप गुम्बा, च्योप्तांगे गुम्बा लगाएत गुम्बाहरु रहेका छन् जुन पर्यटन विकासको लागी महत्वपुर्ण छ ।

    हिमाली चामल, सेराना प्रजातिको माहुरीको मह, अल्लो, सिस्नो, खुवा लगाएतका दुग्ध जन्य परिकारहरु, लोकल मकैको ढिडो, ऐंसेलु काफल लगाएतका प्राकृतिक फलहरुको स्वाद लिन पाइने यस स्थानमा घोरबाँधे, पाट्नेखोला गुफा, बाघद्धार, गुवाभञ्याङ पनि यहाका प्राकृतिक उपहारहरु हुन बारै महिना बग्ने खोलाहरुले सुनमा सुगन्ध थपेका छन् । प्रायः हिउदको समयमा यहाँ हिउँ पर्ने गर्दछ हिउँ खेल्नको लागी सयौं युवाहरु बेथानचोक आउने गरेका छन् ।

     

    हर्कभञ्याङ, चोरण्डे, अर्खौले, आले श्रीचउर, डाँडागाउ, भुसुनेपाखा, च्याल्टिडाँडा, कामीडाँडा, थलिडाँडा, च्याम्राङबेशी, ठुलाचौर बोल्देडाँडा, डाँडागाउ, महाँकालडाँडा, कामीखोरिया थप उचाईमा रहेका बस्तीहरु हुन जहाँका फरक फरक स्थान बाट फरक दृष्य देख्न सकिन्छ जस मध्ये केहि स्थानहरुमा आन्तरीक तथा बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै सामुदायिक होमस्टेहरु पनी निमाणका चरणमा छन् । तामाङ्ग समुदायको झाँक्री नाच, ब्रामण समुदायको खैजेडी भजन, मन्दिरमा हुने भजन यहाका कला संस्कृतिहरु र परम्परागत शैलिमा निमार्ण ढुंगा माटो र काठवाट बनेका घरहरु पर्यटन मैत्री छन् । परम्परागत पद्धति द्धारा स्थानिय स्तरमा गरिने खेतीपातीबाट उत्पादन हुने अर्गानिक फलफुल तथा तरकारीहरु जुन इकोटुरीजम संग सम्बन्धित छ ।

    ब्रामण, क्षेत्री, तामाङ्ग, नेवार, मगर, दलितको मिश्रीत बस्तीको रुपमा रहेको बेथानञ्चोक आफैमा सुन्दर घना बनजंगल चरा तथा वन्यजन्तु अवलोकनका लागी महत्वपुर्ण छ । पछिल्लो समय ढुंखर्क घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दे ३ ओटा निजी र २ ओटा सामुदायीक होमस्टेहरु संञ्चालनमा आएका छन् ।

    बेथाञ्चोक जानको लागी काठमाण्डौं वाट पनौती ९० मिनेट र पनौती बाट ढुंखर्क ९० मिनेट लोकल बसमा जान सकिन्छ । राजधानीको अस्तव्यस्त वातावरणबाट दिक्क भएकाहरुको लागी पनि उत्कृष्ट गन्तव्य ढुंखर्क हो शुक्रवार काठमाडौं को अफिसको काम सकेर ढुंखर्क प्रस्थान गर्न सकिन्छ भने शनिवार ढुंखर्क बसेर आईतवार बिहानै अफिस समयमा काठमण्डौ पुग्न सकिन्छ । 

     

    विभिन्न स्थानवाट बेथाञ्चोक नारायणस्थान सम्म पुग्नको लागी पर्यटकिय पदमार्गहरुको निर्माण भइरहेको छ । जस अन्तर्गत बेथानचोक ३ बाट करिव ११ सय सिढि बाटोको निमार्ण कार्य सम्पन्न भएको छ भने थप सिढिहरु निमार्ण भइरहेका छन् । त्यस्तै बेथाञ्चोक २ स्थित गुवाभज्याङ्ग वाट बेथाञ्चोक नारायणस्थान, कामीडाँडा, ताराखसे लेक हुदै नमोबुद्ध सम्मको अर्को पदमार्गको पनि निर्माण चरणमा छ । भने साविक ढुंखर्क गाविस वडा नं २ हाल बेथाञ्चोक ३ हुदै पनि बेथाञ्चोक नारायणस्थान सम्म पदमार्गको निमार्ण भईरहेको छ भने ललितपुरको फुलचोकी देखी कालेश्वर हुदै सोही स्थानमा जोड्ने पर्यटकिय पदमार्ग निमार्णको लागी सम्भाव्यता अध्ययनहरु भईरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस