२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नेपाली राजनीतिको विपरित गति

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ९६४ पाठक संख्या
  • सरोज कुईकेल

    मुलुकको राजनीतिक वृत्तमा नेतृत्वदायी भूमिकामा रहेका सबै पार्टीहरुको आन्तरिक एकता लोकतान्त्रिक गणतन्त्रको निरन्तरता र विकासको पहिलो आधारभूत सत्य हो । नेतृत्वदायी भूमिकामा रहेका र तीनै तहको सरकार वा दुवै तहको संसदमा प्रत्यक्ष सहभागिता जनाएका राजनीतिक दलहरु जति मजबुत भए उति यो व्यवस्था मजबुत हुन जान्छ ।

    यो देशमा सामन्ती चरित्रको राज्य व्यवस्थालाई हटाएर जनताको बल र मतमा चालु राजनीतिक व्यवस्था अघि बढाउने कुराको श्रेय यिनै दलहरुलाई जान्छ । सत्तामा नहुँदा सत्ता प्राप्तिका निम्ति मरिहत्ते गर्ने सत्तामा राजनीतिको पुरानै परम्परा हो । सत्ताका निम्ति स्पष्ट बहुमतवाला कांग्रेस सरकार २०५१ मा विभाजित भयो र मध्यावधिमा गयो । संसदीय दलमा पकड गुमाउँदा तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाले मध्यावधि रोजेका थिए । जसको परिणाम नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीको अल्पमतको सरकार बन्यो ।

    २०५४ मा सत्ता स्वादले पथ गिराएका एमाले नेताहरु दुई कित्तामा विभक्त भएर पार्टी नै विभाजित गराए । २०५६ मा कृष्ण प्रसाद भट्टराईलाई भावि प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनाव जितेको कांग्रेस सरकार बने लगत्तै सत्ता कलहमा फस्यो र गिरिजाप्रसाद कोईरालाले कृष्णप्रसाद भट्टराईलाई हटाएर आफैं प्रधानमन्त्री भए । यहि घटनाक्रमबाट कमजोर भएको नेपाली कांग्रेस र उसको नेतृत्वको सरकार रहेकै बेला २०५८ साल जेठ १९ गते राजा वीरन्द्रको वंश विनाश हुने गरी दरबार हत्या काण्ड मच्चियो र त्यस लगत्तै राजा भएका ज्ञानेन्द्र शाहले सत्ता हातमा लिए ।
    तत्कालिन राजा ज्ञानेन्द्रले सत्तापूर्ण रुपले आफ्नो हातमा लिएर निरंकुशता लाद्दै लगेकै दौरान नेपाली कांग्रेस समेत विभाजित भयो । आ–आफैं लडेर छिन्नभिन्न भएका संसदीय व्यवस्थाका पक्षधर दलहरु कमजोर भईरहेका बेला सशस्त्र विद्रोहको नेतृत्व गरेको नेकपा माओवादी भने अरु बढी सशक्त र एकताबद्ध भएर उठ्यो । राजा ज्ञानेन्द्रका विरुद्ध सामूहिक रुपले लड्ने र संविधान सभाबाट नयाँ प्रगतिशील पूर्ण लोकतान्त्रिक संविधान लेख्ने मूल सहमतिका साथ सात राजनीतिक दल र नेकपा माओवादी बिच सहमति कायम भए पश्चात् उठेको ०६२÷०६३ को जनआन्दोलनले २४० वर्ष पुरानो राज संख्यालाई नै उखेलेर फ्याँक्न सफल भयो । एकतामा बल हुन्छ भन्ने यो भन्दा अर्काे उदाहरण नेपाली राजनीतिमा अर्काे छैन । २०६४ मा भएको निर्वाचनमा सरकार बनाउन सफल नेकपा माओवादी आफ्नै आन्तरिक खिचातानी उग्र राष्ट्रवादी र उग्रक्रान्तिकारी कदमका कारण सेनापति प्रकरणबाट बाहिरिन पुग्यो । जसले पहिले संविधान सभाबाट संविधान जारी गर्ने योजना असफल हुन पुग्यो । दोस्रो संविधान सभासम्म आइपुग्दा नेकपा माओवादी तीन चिरामा विभक्त हुन गयो र तेस्रो पार्टी बन्न पुग्यो । जसले आफ्नो एजेण्डालाई सफल पार्न आफैंले नेतृत्व गर्ने अवसर गुमायो ।

    २०७४ सम्म आइपुग्दा एमाले र माओवादी दुवै यति कमजोर बनिसकेका थिए कि एक्लै चुनाव नै लड्नै नसक्ने ! यसै परिस्थितिका कारण दुवै पार्टीले तालमेल गरेर चुनाव लडे । स्पष्ट बहुमत ल्याएर सरकारमा के पुगेका थिए, फेरि सत्ता राजनीतिको दाउपेच, षड्यन्त्र, जालझेल र मनपरी बितण्डाको सिकार भएर यतिबेला यो पार्टी कमजोर बनेको छ । तालमेलको परिणामको धरातलमा पार्टी एकता गरेका नेताहरुले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु त कता हो कता विधि, पद्धति र सांगठनिक प्रणाली नै ध्वस्त पारेर मनपरी गर्ने अखडाको रुपमा संगठनलाई पु¥याएर पार्टी पंक्तिका नेता कार्यकर्ताहरु परिचालित हुने अवस्थामा ल्याई पु¥याएका छन् । जसकारण आगामी चुनाव नेकपाका लागि सोचेअनुरुप सकारात्मक र सफल हुने देखिन्न । यसका अतिरिक्त सत्ता बाहिर बसेको नेपाली कांग्रेसले समेत सडक र सदनबाट जनताका आवाज बुलन्द गर्नका लागि पार्टीको आन्तरिक एकता कायम गरी अघि बढ्नुपर्नेमा ठिक त्यसको विपरित स्थितिमा पुगेको छ । कांग्रेसले विपक्षी धर्म र कर्म निर्वाह गर्न त पुरै असफल भयो नै त्यसमाथि सत्ताधारी चरित्र र स्वभाव पनि बदल्न सकेन । कांग्रेस सत्ताधारी पार्टी हो कि विपक्षी दल हो भनेर छुट्याउन आम कार्यकर्तालाई कठिन भएको छ । आफ्नो र आफ्नो गुटको स्वार्थका लागि सत्ताधारी दलसँग गला जोड्ने र अघिपछि देखावटी विरोध जताएर विपक्षी हुँ पनि भन्ने स्वभाव कांग्रेस भित्रका सबै गुटका नेतृत्वको चरित्र हो । जसले कांग्रेसलाई कांग्रेस बन्नबाट पर धकेलेको त हुँदैछ त्यससँगै नेपाली राजनीतिको भावी एजेण्डाविहिन कमजोर पार्टीका रुपमा उभ्याई दिएको छ । यो सबै एकतामा बल हुन्छ भन्ने मान्यतालाई त्यागेर अनेकतामा बल हुन्छ भन्ने मान्यता अँगाल्नुको परिणाम हो । जुन कुरा नेपाली राजनीतिको नेतृत्वदायी भूमिकामा रहेका सबै दलहरुले अँगालिरहेका छन् । यसले व्यवस्था नै कमजोर बन्ने खतरा निम्त्याएको छ ।

     

    समय सान्दर्भिक लेख पलाञ्चोक साप्ताहिकबाट साभार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस