२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

कोरोना संक्रमण विरुद्धको सरकारी निर्देशन अटेर गरे काभ्रेमा पनि “निषेधाज्ञा” हुनसक्ने

  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६८१ पाठक संख्या
  • काभ्रेपलाञ्चोक/ पछिल्लो समय नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध अग्रपंक्ति (फ्रन्टलाइन)मा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनप्रतिनिधिहरु आफैं संक्रमित हुन थालेका दृष्टान्तहरु आउन थालेको छ । यस परिघटनाले कोरोना संक्रमण फैलाउने काम अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुबाट हुन थालेको भन्ने आशंका पाल्न बाध्य हुन थालेका छन् । यद्यपि काभ्रे जिल्लामा यी संक्रमितहरुले आइसोलेसनमा रहेर उपचारपछि क्रमशः कोरोनालाई जित्दै गएका छन् ।

    केही दिन पहिला बनेपाका एक व्यवसायीले शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल घोगेचौरमा आफ्नी पत्नीलाई प्रसूतिका लागि भर्ना गराउनु भयो । भर्ना गराएको दुई घण्टापछि प्रसूति वार्डमै रहेकी २९ वर्षिया महिलामा कोरोना पोजिटिभ भएको खबर आयो । अस्पतालमा भर्ना भएका र उपचारमा आएका सबै जनामा के गर्ने भन्ने त्रास व्याप्त भयो । धन्न, ती महिलाको कन्ट्याक्ट जताततै नभएको हुँदा अरु बिरामीको नतिजा नेगेटिभ आयो । संक्रमितहरुको उपचारमा दिनरात खटिने नर्सिङ, हाइजिन र पारामेडिकहरु यसरी नै जोखिममा परिरहने भए । अस्पतालले पनि कोभिड–१९ संक्रमणविरुद्ध फ्रन्टलाइनमा खटिएका डाक्टर, नर्सिङ, हाइजिन र पारामेडिकहरुलाई जोगिएर सेवा दिन आग्रह गरिरहेको बताएको छ ।

    कोरोना संक्रमण नसर्नेको लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सावधानी नअपनाउँदा र व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को उपलब्धता र सही प्रयोगको अभावले पनि संक्रमण अस्पतालमा बढ्दै गएको एक महामारी विज्ञको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘कसलाई संक्रमण छ भन्ने अनुहारले बताउँदैन । हाल लक्षण भएका संक्रमितको संख्या बढ्दै गएको सन्दर्भमा स्वास्थ्यकर्मीले पनि आफ्ना साथीभाईसँग नजिकको सम्पर्क राख्ने कुरामा सचेत हुनुपर्छ । संक्रमणलाई अटे¥याइँ गरेर स्वास्थ्यकर्मीहरु खाना खाँदासमेत टासिँएर बस्ने, बसमा अस्पताल आउँदा र फर्कँदा एउटै सीटमा दुई जना यात्रा गरिरहने, पिपिई लगाउन र ह्याण्ड हाइजिनमा बेवास्ता गरे संक्रमित हुने बढ्ता चान्सेस देखिन्छ’, उहाँले थप्नु भयो ।
    के अब जटील स्वास्थ्य समस्या देखा परेको खण्डमा अस्पताल नै नजाने त? गर्भवती महिलाहरुले गर्भावस्थाको जाँच गराउन जाने कि नजाने? जटील प्रसूतिका केशमा सिजरियन सेक्सन अपरेशन हुने कि नहुने? पित्त थैली, मुत्रथैलीका समस्याको उपचार हुने कि नहुने? नवजात शिशुहरुको स्वास्थ्य समस्यामा डाक्टरले हेर्ने कि नहेर्ने? मानिसलाई स्वस्थ रहनुपर्छ भन्ने चेतना बढेसँगै अस्पतालमा भर पर्ने आवश्यकतालाई कतै कोरोना संक्रमणले प्रभावित पारेको त हैन?

    धुलिखेल अस्पतालका प्रवक्ता प्राडा सुमनराज ताम्राकार भन्नुहुन्छ, ‘२०७७ जेठ २ गते नेपालमा कोरोनाबाट संक्रमित पहिलो महिलाको मृत्यु नै धुलिखेल अस्पतालमा भएको थियो । यदि त्यतिखेर पनि सावधानी नअपनाएको भए धेरै स्वास्थ्यकर्मी संक्रमित हुन सक्ने सम्भावना थियो । त्यस घटनापछि पनि हामीले ओपिडी चलाइरह्यौं । अपरेशनहरु भइरहे । यी सबै काममा हामीले सबै स्वास्थ्यकर्मीहरुलाई पिपिई लगाउनदेखि ह्याण्ड हाइजिनलाई सधैं प्राथमिकतामा राख्न लगायौं’, उहाँले थप्नु भयो ।

    त्यसपछिका तीन महिनासम्म पनि अस्पतालले निरन्तर सेवा दिइरहेको सन्दर्भमा हालैमात्र एकै पटक धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना पोजिटिभ देखिएपछि अस्पतालले अनुसन्धान गर्दै रहेको ताम्राकारको भनाई छ, ‘यही वीचमा अस्पतालमा एक जना जेष्ठ नागरिकको संक्रमणबाट निधन भयो । त्यति नै बेला अस्पतालमा पनि धेरै भिजिटरहरु आउनु भयो । एकपटक सबै स्वास्थ्यकर्मीमा टेष्ट गरौं ताकि सुरक्षा सावधानी अपनाउन सकिन्छ भनेर टेष्ट गरेका हौं र केहीमा संक्रमण देखिएको पनि हो । संक्रमण देखिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई अस्पतालको र होम आइसोलेसनमा राखेका छौं । यसैलाई आधार बनाएर अस्पतालहरुबाटै संक्रमण फैलन्छ भनिदिनु भएन’, उहाँले गुनासो गर्नु भयो ।
    धुलिखेल अस्पतालले प्रत्येक वर्ष कोरियाली सहयोगमा अस्पतालमा संक्रमण नियन्त्रणबारेमा नर्सिङ स्टाफहरुलाई तालिम दिँदै आएको ताम्राकारको भनाई छ, ‘यो पटक कोभिडका कारण कोरियनहरु आउन नपाए पनि हामीहरुले संक्रमण नियन्त्रण, ह्याण्ड हाइजिनकाबारे सिमुलेसन गरेर सिकाएका छौं । कोभिड–१९ फैलिएपछि यसलाई प्रमुख प्राथमिकतामा राख्नका लागि भनिरहेका छौं । अस्पताल भिजिट गर्न आउनेहरुमा नदेखिने लक्षणको कोभिड पनि हुन सक्छ, कतै उही नै ‘सुपर स्प्रेडर’ भइरहेको त छैन भनेर खोजी गरिरहेका छौं’, उहाँले थप्नु भयो ।

    गर्भवती महिला, नवजात शिशु र दीर्घरोगीहरुका हकमा सम्बन्धित विभागहरुले हटलाइन नम्बर दिएको र कन्सल्ट्यान्टहरुलाई सम्पर्क गर्ने व्यवस्था मलिाइएको ताम्राकारले जानकारी दिनु भयो, ‘हामीले नर्मल अवस्था गर्भावस्थाको जाँच ७÷८ पटकसम्म गर्ने गरेका छौं । अहिले अस्पताल आउन सम्भव नहुनेहरुले घरनजिकैको स्वास्थ्य संस्थामा पाइने ल्याब सेवा, युएसजी सेवाको उपयोग गर्न र रिपोर्ट फोनमै भन्न अनुरोध गरेका छौं । यसरी सेवा लिनेहरु पनि धेरै हुनुहुन्छ । यदि अपरेशन नै गर्नु पर्ने बिरामी भएमा पिसिआर टेष्ट गरेर मात्रै गर्ने गरेका छौं । संक्रमण फैलिइरहेको अवस्थामा सकभर अस्पतालमा नआइदिनका लागि अनुरोध गरेका हौं । उपचार नै गर्दैनौं भनेका छैनौं’, उहाँले थप्नु भयो ।
    यसैवीच, काभ्रेपलाञ्चोक जिल्लास्तरिय कोभिड संकट व्यस्थापन केन्द्र(डिसिसिएमसी) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले दुई दिन अघिमात्रै डिसिसिएमसीको बैठक बसेर महत्वपूर्ण निर्णयहरु लिइएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘अस्पताल र सुरक्षा निकायमा संक्रमण दर फैलिएको प्रति चासो र चिन्ता लिँदै समितिले गम्भिरतापूर्वक पूर्ण सजगता अपनाएर सुरक्षाको पूर्ण मापदण्ड कायम गरेरमात्रै काम गर्न आग्रह गरेका छौं । विशेषगरी अस्पताल र सुरक्षा निकायको तल्लो तहमा संक्रमण फैलिएको प्रति कहाँनेर कमजोरी भयो पत्ता लगाउन निर्देशन दिइएको छ’, तिमल्सिनाले भन्नु भयो ।

    बैठकमा उपस्थित अस्पतालका प्रमुख र डीनलाई समेत सुरक्षाका न्यूनतम मापदण्ड र प्रिकसन लिन अनुरोध गरिएको उहाँको भनाई छ, ‘काभ्रेमा पनि संक्रमितहरुको संख्या बढीरहेको सन्दर्भमा कोरोना फैलन नदिन स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र रहेको क्षेत्रलाई सिल गरिएको, स्थानीय तहहरुको सेवा बन्द गरिएको, जिल्लातहमा रहेका मालपोत, नापी र आन्तरिक राजस्व कार्यालय बन्द गरिएको छ । सार्वजनिक यातायात पूर्ण बन्द गरिएको र स्थानीय सरकारलाई समेत आ–आफ्नो क्षेत्रमा कडाइ गर्न अनुरोध गरिएको छ’, तिमल्सिनाले भन्नु भयो, ‘अझै पनि काभ्रे जिल्लामा कोरोना संक्रमणको अवस्था समुदायस्तरमा फैलिइ नसकेको हुँदा जिल्लामा तत्काल निषेधाज्ञाको कुनै तयारी भएको छैन ।

    तर, सरकारी निर्देशनको अटेर गर्दै संक्रमण बढ्ने क्रियाकालापहरु भइरहेमा निषेधाज्ञा जारी गर्न बाध्य हुन्छौं । यतिखेरसम्म जिल्लाको स्थिति नियन्त्रणभित्रै रहेको हुँदा यो अवस्था नआउला भन्ने सोचेका छौं’ उहाँले थप्नु भयो । तत्काललाई निषेधाज्ञाको कुनै योजना छैन, उहाँले बताउनु भयो ।

     

    बुधवार प्रकाशित काभ्रे जिल्लाको पलाञ्चोक साप्ताहिकबाट साभार

    प्रतिक्रिया दिनुहोस