२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

मृत्यू भएका व्यक्तिमा कोरोना पोजेटिभ, घाटमा पुगेका ४ सय मलामी भागाभाग

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४७२ पाठक संख्या
  • रुपन्देही/ कोरोना महामारीपछि सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन जारी गरेपनि बुटवलकोे एक जना व्यक्तिको दाहसंस्कारमा ४ सय मलामी सहभागि भए । रूपन्देहीको रोहिणी गाउँपालिकामा कोरोना संक्रमितकै दाहसंस्कारमा झन्डै ४ सय मलामी सामेल भएका छन्।

    रूपन्देहीको रोहिणी–३, धकधई निवासी नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्रको दाहसंस्कारमा ठूलै भीड उर्लियो। मधुमेह र उच्च रक्तचापको समस्या भई केही दिनदेखि बिरामी परेका उनको शनिबार उपचारका लागि भारत लैजादै गर्दा मृत्यू भयो । मृत्युपछि उनमा कोरोना छ छैन भन्ने आशंका गर्दै बुटवलको निजी प्रयोगशालामा स्वाब परीक्षणका लागि पठाइएको थियो।

    स्वाब परीक्षणको रिपोर्ट नआउँदै परिवार र आफन्तहरूले शवको अन्तिम संस्कार सुरु गरे। आइतबार बिहान ११ बजेतिर शव घरबाट घाटतर्फ लगियो। परिवार, आफन्तसहित झन्डै ४ सय जति मलामी शवको पछि लागे। जलाउनै लाग्दा उनमा कोरोना पोजेटिभ आएको खबर रोहिणी घाटमै पुग्यो। ४ सय मलामी भागाभाग भयो । मलामी पुगेका रोहिणी गाउँपालिका— ३ का अध्यक्ष वीरबहादुर क्षेत्रीले शव जल्न थालेपछि मात्रै कोरोना पोजेटिभको खबर आएको बताउनुभयो ।

    प्रयोगशालाले आइतबार मध्याह्न कोरोना पोजेटिभ रिपोर्ट दिएको थियो। स्वाब परीक्षण गरेकाले सरकारी निकायले त्यसको प्रतीक्षा गरेको थियो।

    स्वास्थ्य कार्यालय, रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले उनमा कोरोना पुष्टि भएपछि नजलाउन आग्रह गरिएको बताउनुभयो ।

    रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवका अनुसार चितामा राखेर जलाउनै लागेका बेला कोरोना पोजेटिभको नतिजा आएको थियो। लास चितामा राखेका बेला उनमा कोरोना छ भन्ने खबर आएको थियो। नजिक भएकाहरू टाढाटाढा भागे।’–यादवले भन्न्ुभयो ।

    साउनको अन्तिम साता बुटवलमा पनि करिब १ सय ५० जना मलामी गएका थिए। कालिकानगरकी एक महिलाको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो। तर कोरोना परीक्षण गरिएन। तिनै महिलाका आफन्तमा कोरोना देखिएको थियो। अहिले मलामी गएका, आफन्त, नाताकुटुम्ब, पण्डितहरूसमेत गरी ४० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रतिक्रिया दिनुहोस