काठमाडौं / प्रस्तावित कोरोना भाइरसविरुद्धको खोपको क्लिनिक ट्रायल नेपालमा गर्ने तयारी अघि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जुनसुकै मुलुकमा निर्मित खोप परीक्षण गर्न नेपाल खुला रहेको जानकारी दिनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोप ट्रायलको प्रक्रिया अघि बढाइएको जनाएको छ। चीनको एक कम्पनीले कामदारमाथि ट्रायल गर्न अनुरोध गर्दै मन्त्रालयलाई पठाएको छ। यस सम्बन्धमा अनुसन्धान गरी निर्णय गर्न मन्त्रालयले आइतबार परिषद्लाई जिम्मा दिएको छ। मन्त्रालय स्रोतका अनुसार होङसी ग्रुपमा कार्यरत कामदार र अन्य गरी एक हजार जनाका लागि स्वीकृतिको अनुरोध चीनबाट आएको हो। अध्ययन, अनुसन्धानबाट परिषद्ले स्वीकृति दिए ट्रायल सुरु हुने स्रोतको भनाई छ ।
मन्त्रालयको स्वीकृति लिएर परिषद्को नेतृत्वमा अध्ययन अघि बढाइएको छ। परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोपको तेस्रो चरणको परीक्षण गर्न कम्पनी इच्छुक भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस