२०८१ बैशाख २, आईतबार | Sun, 14, Apr, 2024

काँग्रेस महाधिवेशन नजिकिँदै गर्दा गगन, चन्द्र, धनराज र सरिताको नेतृत्व सम्हाल्ने तयारी

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ४९७ पाठक संख्या
  • प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई १४ औँ महाधिवेशन लागिसकेको छ। महाधिवेशनको मिति फागुन ७ गतेका लागि तोकिएको छ। यतिखेर नेताहरु महाधिवेशनको तयारी र आ–आफ्नो रणनीति बनाइरहेका छन्।

    शीर्ष नेताहरु अन्य नेताहरुलाई आफ्नो गुटमा ल्याउन कस्सिएर लागेका छन्। एक दर्जन नेता १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा देखाएका छन्‌। १३ औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री लडेका गगन कुमार थापाले युवाहरुले साथ दिए आफू सभापतिको उम्मेदवार हुने बताएका छन्। गगन मात्रै होइन, आगामी महाधिवेशनमा प्रभाव राख्ने कांग्रेसका थुप्रै युवा नेताहरु छन्। जो भरसक १४ औँ महाधिवेशनमै जिम्मेवार पदमा निर्वाचित हुने र १५ औँ महाधिवेशनबाट नेतृत्व नै सम्हाल्ने तयारीमा छन्।

    नेपाली कांग्रेसमा होस् या संसदमै होस्, सदाबहार प्रतिपक्षीको भूमिकामा देखिने नेता हुन् गगन थापा। एक महिना युवा नेताहरुसँग भएको छलफलमा थापाले युवाहरुको साथ पाए सभापति नै लड्ने बताएका थिए। उनले युवा नेताहरुलाई भनेका थिए, तपाईँहरू आँट गर्नुस्, म साथमै छु। होइन भने म तयार छु, मलाई साथ दिनुस्।’ थापाले सभापति लड्न तयार भएपनि कांग्रेसकै नेताहरु उनी महामन्त्रीका लागि तयारी गरिरहेको बताउँछन्। थापाले १४ औँ महाधिवेशन कांग्रेस र कांग्रेसीको लागि अति नै महत्वपूर्ण हुने बताए।उनले नेतृत्वले हिजो के गरेको छ भन्दा पनि भोलीको लागि एजेण्डा, मुद्दा र उदेश्य के छ भन्ने कुरा महत्वपूर्ण हुने बताए। उनले अहिले फेरि सभापति हुन्छु भन्नेहरुले एजेण्डा नल्याएको गुनासो पनि गरे। यो विषयमा कसको क्षमता के हो भन्ने त थाहा छ। तर,देश नै संकटमा गएको बेला कसरी सामना गर्ने तयारी गरेको छ। त्यो त सुन्न पाउनुपर्‍यो नि१ सभापति लड्ने भन्ने एजेण्डा नल्याएर त भएन।’

     

    दोस्रो पुस्ताका नेतामा पर्छन चन्द्र भण्डारी । उनले पनि १४ औँ महाधिवेशनमा बुढा नेतालाई सम्मानका साथ बिदाइ गर्ने अर्को पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने हिसाबले नै अभिव्यक्तिहरु दिइरहेका छन्। गएको आम निर्वाचनमा पराजित भएपछि कांग्रेसको देशभरको राजनीतिक विश्लेषण गरेर हामीले नेताहरुलाई भनिरहेका छौँ : ‘तपाईँहरुले पार लगाउनुहुन्न, हामीलाई जिम्मा लगाउनुस् भनेर।’

    कांग्रेसभित्र नेतृत्वको चर्को आलोचना गर्नेमध्येका एक नेता हुन्‌ धनराज गुरुङ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भएपनि उनले पौडेललगायत नेताको पनि आलोचना र टिप्पणी गर्दै आइरहेका छन्। १४ औँ महाधिवेशनमा पुराना नेताहरुलाई दोस्रो पुस्ताका नेताले सम्मानका साथ हस्तक्षेप गरेरै छाड्ने उनी बताउँछन्। उनले आफ्ना पुस्ताका नेताहरुको टिम बनेको पनि बताए।

    समूहमा १२ नेता छन्। गुरुङसहित चन्द्र भण्डारी, गगन कुमार थापा, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले गत साउन २७ मा सामुहिक विज्ञप्ती जारी गर्दै देउवा विरुद्ध उत्रिएका छन्। ​

    कांग्रेस नेतृ सरिता प्रसाईं पनि १२ नेताको समूहका एक सदस्य हुन्। उनी पनि १४ औँ महाधिवेशनमा देउवा, पौडेल र सिटौला समूहको विकल्प आउने बताउँछिन्।

    प्रतिक्रिया दिनुहोस