२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

बुटवलमा किरिया गराउने पण्डितलाई कोरोना संक्रमण

  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५५१ पाठक संख्या
  • बुटवलमा एक महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोना देखिएको छ । साथै किरिया गराउने पण्डित समेत कोरोना संक्रमित भएका छन् ।

    साउन १८ गते बुटवल उपमहानगरपालिका –१ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए। किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदियो। सामान्य मृत्युजस्तै ठानेर उनका छिमेकी र नातागोता मलामी गए। उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोरोनाको जस्तै लक्षण देखिए। शंका लागेर जाँच्दा साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो। मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूले परीक्षण थाले। पछि ती महिलाको मलामी गएकाहरूले पनि परीक्षण गराउन थालेका थिए। अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको र यसको नियन्त्रणको लागि एकअर्का बीचको सम्पर्कलाई टुटाउनु पर्ने बताउनुभयो । उहाँका अनुसार ती महिलाको किरिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।

    साउन २२ गतेसम्म २७ जनामात्र कोरोना संक्रमित रहेको बुटवलमा १५ दिनमा १ सय १७ जना थपिएर अहिले १ सय ४४ जना पुगेको छ भने जिल्लाभर ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस