२०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

अमेरिका राष्ट्रपति निर्वाचन : बाइडेन बने औपचारिक रुपमा डेमोक्रेटिक उम्मेदवार

  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६६३ पाठक संख्या
  • अमेरिका/ नोभेल कोरोना भाइरसको महामारीकाबीच अमेरिकामा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको छ । नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिकतर्फबाट जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपतिका उम्मेदवार घोषणा गरिएको छ ।

    पार्टीको राष्ट्रिय सम्मेलनको दोस्रो दिन डेमोक्रेटिक पार्टीले पूर्वउपराष्ट्रपति जो बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।  कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलन यो पटक पूर्ण रुपमा अनलाइनमार्फत भएको छ ।

    बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि बाइडेनले आफ्नो ‘रनिङ  मेट’का रुपमा कमला ह्यारिसलाई घोषणा गरेका छन् । यसअघि ह्यारिस र बाइडेनले गरेको संयुक्त सम्बोधनमा ट्रम्प अमेरिकाको असफल राष्ट्रपति भएकोभन्दै आलोचना गरेका थिए ।

    उनीहरुले अमेरिकालाई ट्रम्पले विमाजित गरेकोसमेत आरोप लगाएका थिए । सोमबारको सम्बोधनमा पूर्व प्रथम महिला मिसेल ओबामाले पनि ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति भएको बताएकी थिइन् ।

    ह्‍वाइट हाउस जाने तेस्रोपटक प्रतिसपर्धा गरिरहेका बाइडेन मत सर्वेक्षणमा ट्रम्पभन्दा निकै अगाडि छन् । बाइडेनलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका बिल क्लिन्टन र जिमी कार्टरले पनि समर्थन गरेका छन् ।

    पार्टीको सम्मेलनको दोस्रो दिन मंगलबार पूर्वराष्ट्रपति क्लिनटनले सम्बोधन गरेका थिए । भिडियोमार्फत पठाइएको सन्देशमा उनले ट्र्म्पको चर्को आलोचना गरे । ट्रम्पले ओभल अफिसलाई ‘लथालिंग’ बनाएको क्लिन्टनको टिप्पणी थियो ।

    डोनल्ड ट्रम्पले अमेरिकाले विश्वको नेतृत्वको गरिरहेको दाबी गरे पनि प्रमुख औद्योगिक अर्थतन्त्रमा अमेरिकामा बेरोजगारी दर तीनगुना भएको भन्दै क्लिन्टनले भने, “यो समयमा ओभल अफिस नेतृत्वको केन्द्र हुनुपर्थ्यो । तर त्यो आँधीको केन्द्र भएको छ । त्यो लथालिंग छ ।”

    बाइडेनलाई रिपब्लिनको पनि समर्थन 
    रिपब्लिकन पार्टीको सरकार हुँदा विदेशमन्त्री रहेका कोलिन पावलले पनि जो बाइडनलाई समर्थन गरेका छन् ।  अमेरिकी सेनाका पूर्वप्रमुख पावलले बाइडनको प्रशंसा गर्दै उनमा सैन्य सेवामा हुँदा सिकेको मूल्य र मान्यता भएका बताए ।

     

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस