२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

प्रहरीको सहयोगमा फैलिएको इल्ताफको अपराध साम्राज्य

  • २०७७ श्रावण २९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ४१९ पाठक संख्या
  • काठमाडौं/कुनै समय बारा जिल्लाका इल्ताफ हुसेन अन्सारीको नाम नेपाल प्रहरीका केही अधिकृतहरुको गुड बुकमा दर्ता थियो। विशेषत जुन प्रहरी नारायणीमा पोस्टिङ्ग भएर जान्थे उच्च कार्यक्षमता देखाउन इल्ताफको साथ अनिवार्य झै थियो। उनीसँग समूह नै थियो जसले प्रहरीलाई आपराधिक सूचना दिन्थे। इल्ताफको सहयोग पाएर प्राय प्रहरी अधिकारीहरु पुलकित हुन्थे।

    उनको साथले अब्बल कार्यक्षमता देखाएका प्रहरी अधिकारीहरु केहीले अवकास पाइसके। केही अझै प्रहरी सँगठनमै छन्।

    उनले प्रहरी अधिकृतलाई सूचना नदिने हैन दिन्थे। तर आफु अनुकुल। उनी बारामा बसेर आफैं आपराधिक गतिविधीमा संलग्न थिए। प्राय सिमामा बसेर तस्करीमा सक्रिय उनी विस्तारै जाली भारतीय रुपैंयाको कारोबारमा समेत संलग्न भइसकेका थिए। तर उनको हैसियत र प्रभाव अन्य यस्तै धन्दावालहरुको भन्दा कम थियो। त्यसैले उनले आपराधिक सूचना दिन सघाउने आवरणमा प्रहरी अधिकृतहरुलाई आफ्ना स्वार्थ अनुसारको सूचना दिएर आफ्नो प्रतिष्पर्धी समूहका सदस्यलाई पक्राउ गराउने र केही केसमा त इन्काउन्टर समेत गराउने समेत छाडेनन्। यसले बारा क्षेत्रमा उनको प्रभाव बढ्दै गयो।

    नारायणी र बारामा पुगेका प्रहरी सरुवा भएर अन्त जाँदा समेत उनी सम्पर्कै रहन्थे। यसले प्रहरीभित्र उनको प्रभाव बढ्दै गएको थियो। अब प्रहरी सँगठनमा प्रभाव र पहुँच बढेपछि धन्दामा उनी बलियो हुने नै भए। उनको प्रभाव कतिसम्म थियो भने काठमाडौंमा भएका केही अपहरणको अनुसन्धानमा उनीसँग सूचना छ कि भनेर केही प्रहरी अधिकारीले उनलाइ प्लेनको टिकटै दिएर काठमाडौंसम्म बोलाउँथे। बलराम पटुवारको हत्यामा उनको नाम पोलिदा समेत प्रहरीले उनलाई पहिला पक्राउ गरेको थिएन। आपराधिक सूचना आउँदैन कि भनेर।

    देखिने आवरण प्रहरीको सूराकी भए पनि धन्दा त आपराधिकै थियो नै। उनको नाम जाली भारतीय रुपैंयाको कारोबारमा पटक पटक जोडियो। उनी केहीमा पक्राउ पनि परे । तर जेलै बस्नु परेन एक घटना बाहेक।

    २०६७ मा नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न ठहर गर्दै जिल्ला अदालत ललितपुरले ३ वर्ष कैद र २ करोड ६१ लाख जरिवानाको फैसला सुनाए पनि उनी काठमाडौंमै हुँदासमेत पक्राउ परेका थिएनन्। अन्य अभियुक्त जेल चलानहुँदा उनी निस्फिक्री काठमाडौं र बारा गरिरहे। २०७२ जेठ ३० मा उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले कैद सजाय भुक्तान गर्न बाँकी दोषीको रुपमा पक्राउ गर्यो र उनी जेल चलान भए पहिलोपटक।

    भारतीय दुतावासका अधिकारीसँगको दोस्ती

    उनको नाम जाली भारतीय रुपैंयाको कारोबारमा जोडिएकाले उनी भारतीय सुरक्षा एजेन्सीको सूचीमा डेन्जर जोनमा हुनु पर्ने नै हो। किनकी भारतीय सुरक्षा एजेन्सीको दावी अनुसार नेपालमा जाली भारु पाकिस्तानबाट भित्रिने हो। पाकितानको खुफिया एजेन्सी आइएसआइ र दाउद इब्राहिमको नाम यो धन्दामा छुट्दैनथ्यो। त्यसैले नेपालमा जो जाली भारुको कारोबारमा संलग्न देखिन्छ उ स्वत दाउद र आइएसआइको एजेन्ट हुने नै भए।
    उनको नाम बारम्बार जाली भारुको कारोबारका नाइके मानिएका यूनुस अन्सारीसँग पनि जोडिने गरेके थियो नै।

    तर अचम्म उनको सम्पर्क र सम्बन्ध नेपालमा रहेको भारतीय दुतावासका अधिकारीहरुसँग र अझ वीरगञ्जमा रहेको भारतीय बाणिज्य दुतावासका अधिकारीसँग समेत रहेको खुलेको थियो। यो खुलाउने काम चै प्रहरीको विशेष व्युरोको एक अनुसन्धानले गरेको थियो । २०७२ मा इल्ताफबारे ब्युरोले तयार पारेको विशेष प्रतिवेदनमा उनी सम्पर्कमा रहेका भारतीय सुरक्षा अधिकारीको नाम र उनले सुराकीका लागि इल्ताफलाई टिपाएको नेपाली नागरिकको नाम समेत उल्लेख थियो।

    प्रतिवेदनले उनी नेपाल प्रहरीका लागि मात्रै हैन भारतीय दुतावासका केही अधिकारिका लागि समेत सुराकीको काम गर्ने देखाएको थियो। अर्को छक्क पार्ने तथ्य त्यही प्रतिवेदनमा उनको सम्पर्क जाली भारुको कारोबारमा सक्रिय पाकिस्तानी नागरिकहरुको नाम समेत उल्लेख थियो।

    व्युरोको प्रतिवेदनमा उनले तत्कालिन गृहमन्त्रीसँग मन्त्रालयमै गएर २ पटक भेटेको समेत उल्लेख थियो। भेटको उदेश्य के थियो इल्ताफ र ती गृहमन्त्री नै जानुन्।

    अपराधको वेस वीरगञ्ज

    भारतले नोट बन्दी लागु गरेर सबै पुराना नोट अबैध नबनाएसम्म नेपालहुँदै जाली भारुको कारोबार खुब फस्टाएको थियो। यो कारोबारको शैली पाकितानमा रहेको समूहले दुबई या सिधै कराँचीबाट हवाईमार्गहुँदै जाली भारु काठमाडौंमा उतार्ने, काठमाडौंमा रहेको दोस्रो समूहले त्यसलाई लिएर स्थलमार्गहुँदै वीरगञ्ज लगायतका नेपाल–भारत सिमाको शहरमा पठाउने अनी त्यहाँ रहेको समूहले चै भारत छिराउने नै देखिन्थ्यो।

    अन्सारीको अपराधको थलो चै वीरगञ्ज हो। हवाईमार्गबाट काठमाडौंमा जाली भारु भित्रिएपछि त्यसलाई स्थलमार्गबाट वीरगञ्जसम्म पूर्याउने र वीरगञ्जमा रहेको समूहले भारत पूर्याउन सक्रिय थिए उनी।

    अपराधमा प्रवेश पोके तस्करीबाट भएको देखिन्छ। बारा प्रष्टोकाका युनिसको सम्पर्कमा आएपछि उनी जाली भारुको कारोबारमा संलग्न भएको प्रहरी प्रतिवेदनहरुमा देखिन्छ। युनुसबाट यो सिप सिकेपछि उनी लामो समय उनीसँगै रहेनन्। उनले आफ्नो अलग्गै समूह बनाए। जव युनुस जाली भारुको कारोबारको अभियोगमा जेल परे उनका लागि आफ्नो समूहको प्रभाव बढाउने मौका भयो। उनी सहयोगीबाट नाइके भए।

    प्रहरीका केही प्रतिवेदनहरुमा उनको युनुससँग उनको मनमुटाव भएको भनिए पनि केहीमा भने उनले युनुससँगै मिलेर जाली भारुको तस्करी गर्ने गरेको दावी समेत गरिएको फेला पर्छ। त्यसैले यी दुबैको सम्बन्ध लभहेट हो या हेटहेटकै हो त्यो भने अली कन्फ्युज बनाउने खालको छ।

    अनेक नाम तर एकै काम

    उनीविरुद्ध २०६३ मा काठमाडौंमा सरकारी छाप किर्ते, २०६६ मा काठमाडौंमै बलराम पटुवारको हत्या, २०६६ मा ललितपुर र २०६७ मा काठमाडौंमा नक्कली भारु कारोबार मुद्दा भए पनि पक्राउ परेको २०६७ को केसमा मात्रै हो।

    उनका अनेक नाम थिए। मुन्ना खान, इल्ताफ, अल्ताफ, सदरुल अन्सारी। जग्गा प्लटिङ्ग र पेट्रोल पम्प उनको देखाउने कारोबार भइसकेको थियो। उनले सदरुलको नाममा त सवारी चालक अनुमती पत्रै बनाएका थिए। १५ किलो नक्कली सुनमा भने उनले राजु भण्डारीको नाम प्रयोग गरेको प्रहरीको दावी छ। उनले काभ्रेमा राधिका भण्डारीसँग समेत विवाह गरेका रहेछन्। झुक्याउन उनले ससुरालीको थर राखेको प्रहरीको दावी सुनिन्छ।

    उनी पक्राउ परेर जेल परेपछि नक्खु कारागारमा भेट्दा उनले आफु इल्ताफ हुँदै नभएको आफु त अल्ताफ भएको तर शड्यन्त्र गरेर पक्राउ गरेको दावी गरेका थिए। अनी इल्ताफ को हो त भनेर सोध्दा त्यो आफै खोज्नुस भनेका थिए। अब कता खोज्नु इल्ताफ त उनी नै थिए। तर जति नाम प्रयोग गरे पनि काम त एकै थियो।

    जाली नोट छाडेर जाली सुनमा जम्प हो त !

    साउन १३ गते काठमाडौंको ठमेल क्षेत्रमा १५ किलो सुन अनी २ वटा पेस्तोल बरामद भएको घटनाले धेरै नाटिकय मोडहरु पार गरिरहेको छ। पहिला कमलादीमा नविल बैंक अगाडि सुन भएको झोला फालेर तस्कर समूह भागेको भनिएको थियो। तर सुनको झोला सुन्धारामा प्रहरी जवानको हातैमा दिएको खुल्यो।

    भाग्ने गाडि चै बा ६ च ५५१९ नम्बरको भन्ने आयो। यो गाडि इल्ताफको नाममा रहेको खुलेसँगै यो घटनामा उनी जोडिन पुगे। तर यो नक्कली सुन प्रकरणमा ट्विस्ट नै ट्विस्ट छ। नक्कली सुन बनाइर ठगी गर्ने उदेश्य हो भने अन्य सस्तो धातुको प्रयोग नगरी ५६ लाख तिरेर साढे १४ किलो चाँदीमा किन सुनको जलप लगाउन लगाए? त्यो नक्कली सुन कसलाई दिएर ठगी गर्दै थिए ? अनी सुनको झोला जुन प्रहरी जवानको हातैमा दिएर भागेका थिए त्यसमा २ वटा पेस्तोल चै कुन उदेश्यले राखेका थिए केही प्रष्ट भएको छैन अझै। नक्कली सुन कारोबारमा इल्ताफ कसरी जोडिए त्यो पनि रहस्यमै छ।

    जाली भारु र सुन तस्करी एक अर्कासँग मिल्ने अपराध हुन्। प्राय यी दुबैमा एकै समूह संलग्न हुने गरेका देखिएका पनि हुन्। भारतले नोट बन्दी लगाएर पुराना सबै नोट अबैध घोषणा गरेर नयाँ नोट जारी गरेपछि जाली समस्या देखिएको छैन। तस्करीको पेशै संकटमा परेपछि कतै इल्ताफ सुन तस्करीमा संलग्न भएका हुन् कि भन्ने विश्लेशणको पाटो त छ। तर अहिलेसम्म जसरी नक्कली सुनमा इल्ताफको संलग्ननताबारे प्रहरीले दावी गरिरहेको छ त्यसमा गाडि उनको हुन बाहेक अर्को बलियो प्रमाण चै देखिएको छैन।

    बिहीबार उनी पक्राउ परेका छन्। नखुलेका पाटोहरु अब खुल्ला कि !

    पत्रकार केपी ढुंगानाको ब्लगबाट साभार

    प्रतिक्रिया दिनुहोस