२०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

पत्रकार बलराम बानियाँ मृत भेटिए, शव कसरी पुग्यो माण्डुमा !

  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६०८ पाठक संख्या
  • काठमाडौँ/दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दुःखद निधन भएको छ ।

    महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

    बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

    एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।
    बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् । कोभिड(१९ को संक्रमणका कारण कान्तिपुरका अधिकांश सम्पादकीय कार्य घरबाट भइरहेका छन् ।

    असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा चीनले नेपालको भूभाग ओगटेको समाचार उनको बाइलाइनमा प्रकाशित भएपछि सम्पादकीय समूहले भूलसुधार गरेको थियो । त्यसयता बलराम कान्तिपुरमा कम भूमिकामा रहँदै आएका थिए । बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।

    उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस