हेटौडा/आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने काभ्रेका १ सहित ६ जना प्रहरी कर्मचारीहरुलाई मंगलवार बागमती प्रदेश प्रहरी कार्यालयले निलम्बन गरीएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई गत साउन २१ गते नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका १ जना र सिन्धुलीका ५ जना गरी ६ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरीएको हो । निलम्बन पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रह राजकुमार श्रेष्ठ, प्रह डोर बहादुर कार्की, प्रज कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईप्रका मंगलटारमा कार्यरत प्रज नबिन बहादुर थापालाई निलम्बन गरीएको हो ।निलम्बनमा पर्ने प्रहरी कर्मचारीजिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मंगलटार,प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थिए ।
निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरीएको छ ।
त्यस्तै डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने १ जना प्रहरी कर्मचारीहरुलाई मंगलवारै बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।
आर्थिक प्रलोभनमा नपरी आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको हो । पुरस्कृत हुनेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओम नारायण महतो रहेको बागमती समन्वय अधिकृत प्रहरी निरिक्षक रोशन थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस