२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

बोहोराको हत्या आरोपमा कल्पना पक्राउ, अवैध सम्बन्ध बाहिरिने भएपछि हत्या

  • २०७७ श्रावण २७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ६२० पाठक संख्या
  • काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेसमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले हत्या गरेको स्वीकार गरेकी छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेलले आफूलाई यौंन हिंसा गरेको भनी बयान दिएको प्रहरीले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिनुभयो ।

    कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर आफ्नो निर्वस्त्र तस्वीरहरु राख्न थालेकोले हत्या गरेको स्वीकार कल्पनाले बयानकै क्रममा गरेको प्रमुख एसएसपी ज्ञवालीले बताउनुभयो ।

    बोहरालाई ती महिलाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको प्रहरीको भनाइ छ ।

    बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेको र मरेको एकिन भएपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

    कल्पनालाई प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान सुरु गरेको हो । कल्पना र उनकी १५ वर्षिया छोरीलाई मंगलबार बिहान काठमाडौँ ल्याइ प्रहरीले गोंगबुस्थित हत्या गरिएको घरमै लगेर बयान लिएको हो ।

    बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ ।

    ती महिला विगत २ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेश्रो तल्लामा आफनी एक छोरी र एक छोरासँग बस्दै आएको र ती महिलाका श्रीमान् भने खाडी मुुलुकमा रहेको खुलासा भएको छ ।

    हत्यापछि शवलाई टुक्रा पारेर सुटकेशमा राखिएको र टाउको र खुट्टा भने प्लाष्टिकको झोलामा राखेर फालिएको थियो । शव व्यवस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिएर चितवन पुगेको खुलासा भएको छ ।

    अवैध सम्बन्धपछि ब्ल्याकमेलिङ

    अनुसन्धानमा संलग्न अधिकृतले बताए अनुसार पौडेलसँग मृतकको अवैध सम्बन्ध थियो । पौडेलका श्रीमान विदेशमा छन् र, पछिल्लो समय राम्रो सम्बन्ध छैन ।

    मृतक बोहरा विदेशबाट फर्किएका व्यक्ति हुन् । दुई जनासँग विवाह गरे पनि डिभोर्स भइसकेको थियो । करिब दुई/तीन वर्षअघि फेसबुकमार्फत चिनजान भएका दुबै नजिकिए ।

    तर पछिल्लो समय बोहराले फेसबुकमा आफ्नो फेक प्रोफाइल बनाएर विभिन्न पुरुषसँग कुराकानी गर्ने, गोप्य तस्वीरहरु पठाइदिने गरेको पौडेलले बयानमा बताएकी छन् । ‘पछिल्लो समय फोटो सार्वजनिक गरिदिन्छु भनेर ब्ल्याकमेल गर्ने र सम्बन्ध राख्ने गरेको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘बोहराको क्रियाकलापबाट आजित भएको उनको बयान छ ।’

    प्रतिक्रिया दिनुहोस