२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

भकुण्डेबेसीमा तरकारी बजार सञ्चालनमा

  • २०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३७० पाठक संख्या
  • भकुण्डेवेसी/नमोवुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार सन्चालनमा आएको छ ।

    फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना भएको भकुण्डे कृषि उपज संकलन केन्द्र साउन २३ गते शुक्रबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ । केन्द्रको शुक्रबार एक समारोहबीच नगरप्रमुख टिपी शर्मा तिमल्सिना र उपप्रमुख रामदेवी तामाङले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । केन्द्र स्थापनाका लागि फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाबाट १५ लाख रुपैयाँ र नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । आयोजनाले संकलन केन्द्र स्थापनाका साथै किसानलाई उन्नत जातका बिउबिजन वितरण, आवश्यक तालिम, थोपा सिञ्चाई, तरकारी नमुना प्रदर्शनीका लागि २४ लाख १९ हजार ७ सय २५ रुपैयाँ खर्च गरेको नमोबुद्ध नगरपालिका कृषि शाखा प्रमुख रेशम दाहालले बताउनुभयो ।

    केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाले खाद्य सूरक्षा, किसानको हकहितका लागि कार्यविधि नै बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले नगरपालिकामा कृषि, पर्यटन र व्यापारलाई एकसाथ अघि बढाउने योजना बनाएको जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले तरकारी बजारलाई अझै व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । भकुण्डे कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका कृषि संयोजक एवं वडा नंवर ९ का वडाअध्यक्ष मेलवहादुर लामाले कृषिलाई व्यवसायिक बनाउँदै लैजान नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाका सबै वडामा प्रति वडा ६ वटाका दरले भुसा काट्ने मेसिन हस्तान्तरण गरिएको थियो । यस्तै फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजना र सिप्रेडको तर्फबाट प्राप्त तरकारी संकलन क्रेटसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नमोवुद्ध नगरपालिका युवा परिषदका उपाध्यक्ष अशोक खनाल, नगरपालिकाका वडा अध्यक्षहरु, काभ्रे कृषि बजार व्यवस्थापन समिति अध्यक्ष पुर्णचन्द्र सिग्देल, नगरपालिका पशु विकास शाखाका प्रमुख चिरन्जिवी शर्मा, कृषक समूह महासंघ प्रदेश सदस्य कमला खनाल, महासंघका राममणि हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस